Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 34

त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।

34 हर समय म परमप्रभुलाई धन्यको भन्छु।
    उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
नम्र मानिसहरू! सुन र खुशी बन।
    मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
मसँग-सँगै परमप्रभुको स्तुति गर!
    र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
    अनि उहाँले मलाई उत्तर दिनुभयो।
    मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
    तिमी लज्जित हुनु पर्ने छैन,
    उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
    अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
    उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
    अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
    जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
    उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
    तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
    म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
    र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
    त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
    शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
    उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
    उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
    उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
    परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
    अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
    तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
    एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
    असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
    उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

प्रस्थान 19:7-20

मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”

त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।”

त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।

10 अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ। 11 अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्। 12-13 तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बस्नु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरून्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुन्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।”

14 यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।

15 तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरूषहरूले स्त्रीहरूलाई छुनु हुँदैन।”

16 तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए। 17 तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। 18 सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो। 19 तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो।

20 अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए।

यहूदा 17-25

चेतावनी अनि कर्त्तव्य

17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर। 18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” 19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।

20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। 21 तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।

22 जो मानिसहरू सन्देह गर्छन् तिनीहरूलाई दया देखाऊ। तिमीहरूले कोही मानिसहरूलाई बचाँउनु आवश्यक छ। 23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

परमेश्वरको स्तुति गर

24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। 25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International