Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 25:1-9

परमेश्वरप्रति स्तुति-गान

25 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु।
तपाईंले उदेककोकामहरू गर्नुभयो।
    धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्।
    त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
तपाईंले शहर नष्ट पार्नु भयो।
    यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो।
तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ।
    विदेशी महल नष्ट भयो अब यो कहिल्यै फेरि बनिने छैन्।
शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्,
    दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ।
यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए,
    तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो।
परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति,
    तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ।
कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्।
    पानी पर्खालको विरोधमा प्रचण्ड बढछ।
    तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्।
शत्रुले भयानक चुनौतीहरू दिन्छन्।
    तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ।
गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ।
    त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ,
    भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।

उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज

त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।

तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।

त्यसबेला, मानिसहरूले भन्नेछन्,
    “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,
जसलाई हामीले पर्खिरहेका थियौं।
    उहाँ हामीलाई बचाउन आउनु हुनेछ।
हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं।
    यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ,
    हामी आनन्दित र खुशी हुनेछौं।”

भजनसंग्रह 23

दाऊदको भजन।

23 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

फिलिप्पी 4:1-9

गर्न पर्ने कामहरू

मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।

मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा[a] तिमीहरूको नाउँपनि राखिएकोछ।

सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।

मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

मत्ती 22:1-14

रात्री भोजनमा बोलाइएका मानिसहरूको दृष्टान्त

(लूका 14:15-24)

22 मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो। “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।

“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’ 10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।

11 “त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए। 12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन। 13 अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दु:खले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

14 “हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International