Revised Common Lectionary (Complementary)
यात्राको एक गीत, दाऊदको भजन।
133 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
किनभने यो सियोनमा थियो,
जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।
29 तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्। 30 कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए। 31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ। 32 त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।” 33 आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।
याकूबको दाह-सँस्कार
50 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए। 2 यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे। 3 मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।
4 सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसँग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु। 5 ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’”
6 फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”
7 यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए। 8 तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए। 9 मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।
10 तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे। 11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।
12 यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे। 13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो। 14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।
अरूलाई पापी भनेर दोष नलगाऊ
13 यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्। 14 म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।
15 केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो। 16 आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ। 17 परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। 18 कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।
19 यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्। 20 भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो। 21 मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।
22 यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ। 23 तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।
15 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। 2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।
© 2004, 2010 Bible League International