Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 18:1-19

प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।

18 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
    तपाईं मेरो शक्ति हुनुहुन्छ।”

परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
    परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।

मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
    अनि म मेरो शत्रुहरूबाट बाँचे।
    तर तिनीहरूले खिल्ली उडाए।
मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।
    म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,
    मृत्युको पासो मेरो सम्मुख थियो।
म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
    हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो।
    उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
पृथ्वी थर्कियो र काम्यो;
    पर्वतहरूको जग हल्लियो।
    किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।
    परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला
    अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
परमप्रभुले आकाश च्याति दिनु भयो,
    अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।
    उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो
    उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
    त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!
13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
    सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
    त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
    परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।

15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
    अनि शक्तिशाली हावा बहन थाल्यो।
पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं।
    हामीले पृथ्वीको पिंध देख्न सक्यौं।

16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
    परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
    मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
    तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
    उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।

उत्पत्ति 19:1-29

लूतका पाहुनाहरू

19 साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखे र भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे। तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यहीं बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”

ती स्वर्गदूतहरूले भने, “अँहँ हामी बाटोमै रात बिताउनेछौं।”

तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।

तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे। तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”

तब लूत बाहिर निस्केर घरको ढोका लगाए। त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर। सुन, कुनै पुरूषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”

घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।

10 तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने। 11 त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

सदोमबाट भागे

12 तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाँईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोड्नु भनीदेऊ, 13 शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”

14 तब लूत बाहिर गए अनि आफ्नो ज्वाँईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाँईहरूले सोचे उनी ठट्टा गरिरहेका छन्।

15 अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”

16 तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो। 17 यसर्थ ती दुइ स्वर्गदूतहरूले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फर्केर नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”

18 तर लूतले ती दुइ स्वर्गदूतहरूलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग्न मलाई कर नलगाउनु होस्। 19 म तपाईंको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गएँ भने? म मर्ने छु। 20 हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”

21 स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन। 22 तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुगुन्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ सोअर हो।)

सदोम र गमोराको विनाश

23 घाम झुल्कँदै गर्दा लूत सोअर शहरभित्र पस्दै थिए। 24 त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो। 25 यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।

26 जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्।

27 त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए। 28 अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयङ्कर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो।

29 त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।

रोमी 9:14-29

14 यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। 15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”(A) 16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन। 17 धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”(B) 18 यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

19 यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?” 20 हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ? 21 कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?

22 यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए। 23 परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो। 24 हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ। 25 होशेको कितावमा धर्मशास्त्रले भन्दछ,

“जो मानिसहरू मेरा होइनन्-
    म भन्नेछु ती मेरा मानिसहरू हुन्।
अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ-
    म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”(C)

26 अनि

“त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो,
    ‘तिमीहरू मेरा मानिसहरू होइनौ’
    त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।”(D)

27 अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्:

“इस्राएलका मानिसहरू
    समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्।
तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
28     हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको न्याय गरिसक्नु हुनेछ।”(E)

29 यस्तै कुरा यशैयाले भनेः

“परमप्रभु सर्व-शक्तिमान हुनुहुन्छ,
    प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो।
यदि उहाँले त्यसो नगर्नु भएको भए,
    अहिले हामी सदोम,
    र गमोरा जस्तै हुने थियौं।”(F)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International