Revised Common Lectionary (Complementary)
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
92 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
तपाईंको लागि बजाउनु असल कुरा हो।
4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
5 हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
6 हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
7 दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्।
तर तिनीहरू सधैँको निम्ति नष्ट हुनेछन्।
तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
8 तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो।
म दरिलो सींङहरू भएको साँढे जस्तै हुनेछु।
तपाईंले खास कामको लागि मलाई रोज्नुभयो,
तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें।
तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्।
मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
12 असल मानिसहरू लेबानेनमा
परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।
3 “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। 4 यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्। 5 तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ। 6 म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।
7 “तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ। 8 तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।
9 “म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु। 10 तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ बर्षको खेती उठाउँदा पनि पुरानो बर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन। 11 तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन। 12 म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। 13 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।
परमेश्वरको आज्ञा भंगको दण्ड
14 “तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ, 15 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ। 16 यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्। 17 म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।
18 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु। 19 अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश: फलाम र काँसा जस्ता हुनेछन्। 20 तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।
परमेश्वरलाई प्रसन्न पार्ने जीवन
4 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। 2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। 3 परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। 4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। 5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। 6 यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। 7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। 8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
© 2004, 2010 Bible League International