Revised Common Lectionary (Complementary)
धन्यवादको भजन।
100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2 परमप्रभुको सेवामा खुशी हौ!
खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
उहाँले हामीलाई बनाउनु भयो।
हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
5 परमप्रभु, भलो हुनुहुन्छ।
उहाँको प्रेम अनन्त छ।
हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
परमेश्वर मोशालाई फेरि बोलाउनु हुन्छ
28 मिश्र देशमा परमप्रभुले मोशासँग कुरा गर्नुभयो र 29 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले तिमीहरूलाई जो भनें त्यो मिश्रको राजा फिरऊनलाई भन।”
30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”
7 परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसँग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ। 2 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ। 3 तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र 4 यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु। 5 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”
6 परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे। 7 तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 बर्ष र हारून 83 बर्षका थिए।
मोशाको टेक्ने लहुरो सर्प बनिन्छ
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”
10 यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।
11 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके। 12 तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरू निली दियो। 13 तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।
परमेश्वरको नियम र आज्ञाले मानिसहरू बनिन्छन्
(मत्ती 15:1-20)
7 फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए। 2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)। 3 फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्। 4 यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
5 यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
6 येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्:
‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ,
किनभने तिनीहरूले सिकाएका कुराहरू,
केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’(A)
8 तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। 10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’ 11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। 12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। 13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
© 2004, 2010 Bible League International