Revised Common Lectionary (Complementary)
93 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2 परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
मानिसहरू परमेश्वरदेखि डराए
22 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।
23 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए। 24 तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावनाकम हुन्छ। 25 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाँहदैनौ। 26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैनौं। 27 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’
परमप्रभु मोशासँग बोल्नुहुन्छ
28 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो। 29 म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।
30 “‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन। 31 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
32 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुशरण गर्नु नछोड। 33 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।
असलकामको निम्ति यातना
8 यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। 9 मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। 10 धर्मशास्त्रले भन्छ,
“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ,
अनि असल समयको आनन्द भोग गर्न चाहन्छ,
उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ
र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।
11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ,
त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन्
अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन्
तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।”(A)
© 2004, 2010 Bible League International