Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 102:1-17

पीडित मानिसको भजन। ऊ पीडित भएर, परमप्रभुलाई दुःख पोख्छ।

102 हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।
    सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्।
जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्।
    जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु,
    मलाई झट्टै जवाफ दिनुहोस्।
मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ।
    मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
मेरो शक्ति क्षीण हुँदै गईसक्यो
    म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु।
    मैले खान समेत भूली सकेको छु।
आफ्नो उदासीनताको कारणले गर्दा,
    मेरो ओजन घटिरहेछ।
म मरुभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।
    भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।
म सुत्न सक्दिनँ।
    म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।
    तिनीहरूले मलाई खिसी गरे अनि सरापे।
मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।
    मेरो आँसु मेरो पिउने बस्तु हो।
10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,
    परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो।

11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।
    म सुख्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
    तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
    तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,
    तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्।
    परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
    मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।

हितोपदेश 3:5-12

तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। 10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।

11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। 12 किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।

प्रेरित 7:44-56

44 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। 45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। 46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे। 47 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।

48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्:

49 ‘परमप्रभु भन्नुहुन्छ,
स्वर्ग मेरो सिंहासन हो।
    पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्।
कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ?
    मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
50 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइनन्?’”(A)

51 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ। 52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ। 53 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”

स्तिफनस मारियो

54 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले। 55 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। 56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International