Revised Common Lectionary (Complementary)
नुन्
105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
106 तपाईंको नियमहरू असल छन्।
म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्!
108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
अनि तपाईंका नियमहरू सिकाउनु होस्।
109 मेरो प्राण अनवरत विपदमा परेको छ
तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
111 हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु।
यसले मलाई खुशी पार्दछ।
112 म मेरो जीवनको अन्त सम्म नै,
सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
मानिसहरू विधि-विधान सुन्दछन्
23 राजा योशियाहले यहूदा यरूशलेमका सबै अगुवाहरूलाई आउनु अनि उनीहरूसँग भेट गर्नु भनी बताए। 2 तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।
3 राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुशरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।
4 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीजहरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।
5 यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूटा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूटा पूजाहारीहरूलाई रोके।
6 योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।
7 तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।
8-9 योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवा सम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।) तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसँग अखमीरे रोटी खाए।
यहूदाका मानिसहरू निस्तार पर्व मनाउँछन्
21 तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
22 मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायकर्ताहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्। 23 तिनीहरू योशियाह राजा हुँदा अठाह्रौं बर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए।
24 योशियाहले धामी झाँक्री, जादूगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यरूशलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दा चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइऐको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे।
25 योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुशरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।
माटाको भाँडामा आत्मिक धन
4 परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। 2 तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अँहँ! ठ्याम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्। 3 हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्। 4 यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ। 5 हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं। 6 परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।
7 परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन। 8 हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं। 9 हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं। 10 येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्। 11 हामी जीवित छौं तर येशूको निम्ति हामी सधैँ मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरण्शील शरीरमा येशूको जीवन पनि झल्कन सकोस्। 12 यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ।
© 2004, 2010 Bible League International