Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
37 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।
ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।
उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,
कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
यहूदाभित्र अनिकाल
1 धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए। 2 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, एप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे।
3 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे। 4 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एउटाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दश बर्ष बसे। 5 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्।
नाओमी घर जान्छिन्
6 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे। 7 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।
8 तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु। 9 म प्रार्थना गर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाँई खाईन अनि ती सबै रून थाले।
10 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौं।”
11 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्। 12 घर फर्कीजाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बृद्धा भइसकेकी छु। यदि म फेरि बिवाह गर्न सक्ने भए ता पनि म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्तैन। 13 तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुन्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
14 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाँई खाईन् अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।
15 नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”
16 तर रूथले भनिन्, “तपाईंलाई छाड्न मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किएर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। 17 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिनँ भने म परमप्रभुसित दण्डको याचना गर्छु, केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”
घर फर्काइ
18 नाओमीले देखिन् कि रूथ तिनीसित जान खूबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्।
1 ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट
हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।
2 साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
3 हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
फिलेमोनको प्रेम र विश्वास
4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। 5 परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु। 6 म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ। 7 मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
ओनेसिमसलाई एक भाइको रूपमा स्वीकार गर
8 तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। 9 तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। 10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। 11 बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
12 म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। 13 म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। 14 तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।
15 ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। 16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।
17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। 18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। 19 म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन। 20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। 21 तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
22 दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
अन्तिम अभिवादन
23 मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। 24 अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
25 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
© 2004, 2010 Bible League International