Revised Common Lectionary (Complementary)
परमप्रभुको आरोप
6 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ:
“उठ अनि पहाडको सामुन्ने खडा हौ,
अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ।
पहाडहरूलाई आफ्नो कथा सुनाऊ।
2 परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ।
पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन,
अटल रहने पृथ्वीका जगहरू हो,
परमप्रभुको आरोप सुन,
उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”
3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू!
के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें?
मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ?
मलाई भन मैले तिमीहरूलाई के गरें?
4 म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें,
मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ!
मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ।
मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।”
5 हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर।
ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो।
ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो।
तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।”
परमेश्वर हामीबाट के चाहानु हुन्छ?
6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ?
के परमप्रभुलाई एक बर्षको बाछो,
होमबलि चढाउन लिएर जाऊँ?
7 के परमप्रभु एक हजार भेंडा़
र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ?
के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा
जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?
8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ।
परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ,
त्यो बताउनु भएको छ।
मानिसहरूसँग तिमी साँच्चो बन,
अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।
दाऊदको भजन।
15 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान
18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः
“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(A)
20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”(B)
येशूद्वारा मानिसहरूलाई शिक्षा
(लूका 6:20-23)
5 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। 2 उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,
3 “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
4 अहिले शोक गर्नेहरू धन्यकाहुन्,
किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
5 धन्य नम्र हुनेहरू,
किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
6 धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
7 धन्य अरू प्रति दया देखाउनेहरू,
किनभने तिनीहरूले दया पाउनेछन्।
8 धन्य हृदयमा शुद्ध हुनेहरू,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
9 धन्य मेल-मिलाप गराउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।
11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
© 2004, 2010 Bible League International