Revised Common Lectionary (Complementary)
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
13 हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्।
आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्।
हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।
15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो।
अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
16 तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्,
जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ,
अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्।
हामी जे काम गछौ त्यो फलदायक होस,
हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
दश आज्ञाहरू
5 मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन। 2 परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो। 3 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ। 4 परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो। 5 तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,
6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ।
7 ‘तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन।
8 ‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। 9 कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। 10 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।
11 ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।
12 ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। 13 सातामा छ दिन आफ्नो काम गर। 14 तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन। 15 यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।
16 ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।
17 ‘तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
18 ‘तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।
19 ‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।
20 ‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन।
21 ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’”
हामीले परमेश्वरको अनुशरण गरिरहनु पर्छ
7 त्यसैकारण पवित्र-आत्मा भन्नहुन्छ,
“आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ,
त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
9 चालिस वर्षसम्म मरूभूमिमा मैले के-के गरें,
त्यो तिम्रा पिता-पुर्खाहरूले देखे।
तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
10 त्यसैले म तिनीहरूसित रिसाएँ
र मैले भनें ‘तिनीहरूका विचार सधैँ गल्ती छन्
तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
11 त्यसैले म रिसाएँ र शपथ लिएँ की,
‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन्,
र मसित विश्रान्ति पाउने छैनन्।’”(A)
12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्। 13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्। 14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ। 15 धर्मशास्त्रले भनेको छ,
“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
अतीतमा जस्तै हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”(B)
16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए। 17 अनि परमेश्वर तिनीहरूसँग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे। 18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्। 19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।
© 2004, 2010 Bible League International