Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 104

104 हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर।
    हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
    तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्।
तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
    परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो।
तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो,
    अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढ्नुभयो।
परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता
    अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै[a] बनाउनु भयो।
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,
    यसैले यो ध्वंश हुने छैन।
तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो।
    पानीले पर्वतहरू छोपीए।
तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो।
    परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खाडीहरूमा झर्दै,
    र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो
    ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।

10 हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो।
    यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
11 नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो
    अनि यहाँसम्म कि जंङ्गली गधाहरू पनि यहाँ पानी पिउन आउँछन्।
12 जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्।
    तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
13 परमेश्वरले बर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ।
    चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
14 परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो।
    उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो।
    जसलाई हामी हुर्काउने काम गछौं।
    ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
15 परमेश्वरले हामीलाई दाखरस दिनुहुन्छ, जसले हामीलाई खुशी तुल्याउँछ,
    तेल जसले हाम्रो छाला नरम पार्दछ,
    अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।

16 लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्।
    परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
17 चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्।
    सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।
18 उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्।
    विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।

19 परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो।
    अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
20 तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई,
    त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
21 सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन
    जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
22 त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ
    अनि विश्राम गर्दछन्।
23 तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन्
    अनि साँझ सम्म काम गरि रहन्छन्।

24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
    पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
    हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
    अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
    त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
    लिब्यातान समुद्रमा खेल्छ।
    महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।

27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
    तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
    तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
    अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
    तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
    अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
    अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।

31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
    उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
    उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।

33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
    जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
    म परमप्रभुसित खुशी छु।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।
    दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।

मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
    परमप्रभुको प्रशंसा गर!

1 राजा 17:1-16

एलिया र खडेरीको समय

17 एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”

तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको साँघुरो घाँटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ। तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।” यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए। कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये।

पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो। तब परमप्रभुले एलियालाई भन्नुभयो, “सीदोनमा सारपत जाऊ। त्यहीं बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”

10 यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकुँ?” 11 जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”

12 स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”

13 एलियाले स्त्रीलाई भने, “फिक्री नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ। 14 परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले बर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’”

15 यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो। 16 पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

1 कोरिन्थी 4:6-21

दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?

तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्।

14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। 15 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। 16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। 17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।

18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। 19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्। 20 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ। 21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International