Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 6

संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
    तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
हे परमप्रभु, ममाथि दया राख्नुहोस्
    कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
    मेरो हड्डीहरू दुःखीरहेका छन्।
    मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
    तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
    मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
    यसैले मलाई निको पार्नुहोस्!

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
    मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
    म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
    त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
    अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।

दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
    किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।

10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
    अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।

2 इतिहास 26:1-21

उज्जियाह यहूदाका राजा

26 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो। उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।

उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्। उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। उज्जियाहले परमेश्वरको अनुशरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।

उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए। परमेश्वरले उज्जियाहलाई पलिश्तीहरू अनि गुर-बलमा बस्ने अरबीहरू अनि मूनीहरूको विरूद्धमा युद्ध गर्नमा सहायता दिनुभयो। अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।

उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए। 10 उज्जियाहले मरुभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।

11 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए। 12 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए। 13 ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे। 14 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए। 15 यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा-टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।

16 तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए। 17 पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए। 18 तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा-पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”

19 तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्‌यो। 20 अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो। 21 उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।

प्रेरित 3:1-10

पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।

एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो। जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। ऊ हिँड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा माग्ने गर्थ्यो। त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो।

पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”

त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो। 9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International