Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 7:1-11

दाऊदले मन्दिर बनाउन चाहे

राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो। राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”

नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”

तर त्यही रात परमप्रभुको आदेश नातानलाई आउँछ। परमप्रभु भन्नुहुन्छ,

“मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ। इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैँ पालमै थिएँ। पाल नै मेरो घर थियो। मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिनँ। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’

“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु। 10-11 म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्। शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्यायकर्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन।

2 शमूएल 7:16

16 तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।’”

लूका 1:46-55

मरियमद्वार परमेश्वरको प्रशंसा

46 त्यसपछि मरियमले भनिन्,

47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
    अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।
    अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ।
    उहाँको नाउँ पवित्र होस्।
50 जसले परमेश्वरलाई उपासना गर्छ,
    उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।
    उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
    अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,
    तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ।
    उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न,
    हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

भजनसंग्रह 89:1-4

एज्री एथानबाट “मस्किल” भन्ने भजन।

89 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
    र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
    तपाईंको विश्वास आकाश झैं व्यापक छ।

परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
    मैले मेरो दास दाऊदसँग कसम खाएँ।
‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
    म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”

भजनसंग्रह 89:19-26

19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
    अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
    मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
    अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
    अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
    दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
    र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
    म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
    उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
    तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।

रोमी 16:25-27

25 परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ। 26 त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ। 27 येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन।

लूका 1:26-38

कन्या मरियम

26-27 इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। 28 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”

29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। 31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। 32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। 33 उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”

34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”

35 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ। 36 यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइएता पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्। 37 किनभने परमेश्वरमा जे कुरा पनि सम्भव छ।”

38 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International