Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
28 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
मप्रति दया दर्शाउनु होस्।
3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”[a] शब्दसँग स्वागत गर्दछन,
तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।
6 परमप्रभुको प्रशंसा गर।
उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
र उहाँको प्रशंसाको गीत गाउँछु।
8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।
9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।
शिमशोनको विवाह
14 शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे। 2 जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”
3 तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन।”
तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।” 4 शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध केही घटनाहरू घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।
5 शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्जियो अनि शिमशोनतिर झम्ट्यो। 6 शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्रा-टुक्रा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्रा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।
7 यसर्थ शिमशोन शहर तिर झरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्। 8 धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए। 9 शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।
10 शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए। 11 जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।
12 तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु। 13 तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”
14 शिमशोनले तिनीहरूलाई अड्को सुनाएः
“खानेबाट केही खानेकुरा निस्क्यो।
बलवानबाट केही गुलियो कुरा निस्कयो।”
ती 30 जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।
15 चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्कोको उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”
16 यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”
17 शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।
18 यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,
“महभन्दा गुलियो के हुन्छ?
सिंहभन्दा बलियो को हुन्छ?”
तब शिमशोनले तिनीहरूलाई भने,
“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए
तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”
19 शिमशोन अत्यन्त क्रोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अड्को को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20 शिमशोनले उसकी नयाँ दुलहीलाई आफूसँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।
पावलको प्रार्थना
3 जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। 4 प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। 5 मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। 6 परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
7 तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। 8 म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।
9 तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः
बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। 10 म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। 11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ।
पावलको कष्ट परमेश्वरको काममा सहायक
12 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो। 13 म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्। 14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।
© 2004, 2010 Bible League International