Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।
18 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
तपाईं मेरो शक्ति हुनुहुन्छ।”
2 परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।
3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
अनि म मेरो शत्रुहरूबाट बाँचे।
तर तिनीहरूले खिल्ली उडाए।
4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।
म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
5 चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,
मृत्युको पासो मेरो सम्मुख थियो।
6 म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो।
उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
7 पृथ्वी थर्कियो र काम्यो;
पर्वतहरूको जग हल्लियो।
किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।
परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला
अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
9 परमप्रभुले आकाश च्याति दिनु भयो,
अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।
उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो
उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!
13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।
15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
अनि शक्तिशाली हावा बहन थाल्यो।
पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं।
हामीले पृथ्वीको पिंध देख्न सक्यौं।
16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
24 उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल।
मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
25 परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्।
धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
26 हो, परमेश्वर महान् हुनुहुन्छ तर हामी उहाँको महानता बुझ्न सक्तैनौं।
हामी जान्दैनौं कि परमेश्वर कहिले देखि हुनुहुन्छ।
27 “परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ
अनि यसलाई तुषारो र बर्षामा परिवर्तन गर्नुहुन्छ।
28 यसकारण बादलले पानी बर्षाउँछ
अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
29 परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ
अथवा मेघ कसरी गर्जाउनु हुन्छ, कसैले पनि बुझ्न सक्तैन।
30 हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो
समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
31 मानिसहरूमाथि नियन्त्रण राख्न
अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
32 परमेश्वरले उज्यालो आफ्नो हातमा अँठ्याउनु हुन्छ,
र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ टाँसिने आदेश गर्नु हुन्छ।
33 आकाशको गर्जनले आँधी कहाँ आउदैछ सो बताउँछ।
यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी-बेहरी कहाँ आउँदैछ।
14 “अय्यूब, एक मिनेट उभिएर सुन,
परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
15 अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादललाई वशमा राख्नुहुन्छ?
के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनुँ हुन्छ?
16 के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्?
परमेश्वरले बनाउनु भएका अनौंठो सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो।
अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।
17 तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ।
जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरका लुगाहरू टाँसिन्छन्,
अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
18 अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ,
अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?
19 “अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ!
तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोच्न सक्तैनौ।
20 म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु।
त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।
21 एउटा मानिसले घाम हेर्न सक्तैन।
बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।
22 अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ।
पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
23 सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ।
हामी परमेश्वरलाई बुझ्न सक्तैनौं।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ।
परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।
24 त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्छन्।
तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न,
किनभने तिनीहरू आफैंलाई ज्ञानी ठान्दछन्।”
येशूले आँधीलाई शान्त गराउनु हुन्छ
(मर्कूस 4:35-41; लूका 8:22-25)
23 येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। 24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। 25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”
26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”
© 2004, 2010 Bible League International