Revised Common Lectionary (Complementary)
संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।
6 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
2 हे परमप्रभु, ममाथि दया राख्नुहोस्
कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
मेरो हड्डीहरू दुःखीरहेका छन्।
3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
यसैले मलाई निको पार्नुहोस्!
6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
मन्दिरमा यर्मियाको पाठ
26 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। 2 परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड। 3 यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु। 4 तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू। 5 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ। 6 तब म यो मन्दिरलाई शिलोह[a] जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।’”
7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। 8 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ। 9 कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरुभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
10 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए। 11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
12 तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो।
स्पर्नाको मण्डलीलाई येशूको पत्र
8 “स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।
9 “मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्। 10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।
11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।
© 2004, 2010 Bible League International