Revised Common Lectionary (Complementary)
7 मेरो अनुहार शरमले ढाकिएको छ।
म तपाईंको निम्ति त्यो शरम सहन्छु।
8 मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्।
मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्।
9 तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ।
म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
10 म रोएँ र उपवास बसें,
अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।
11 आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ,
अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन।
मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः
तपाईंले मलाई ग्रहण गरेको चाहन्छु।
हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु,
म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
14 दलदल देखि मलाई तान्नु होस्।
मलाई दलदल भित्र भासिन नदिनुहोस्।
मलाई यो गहन पानीबाट बचाउनुहोस्।
मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
15 पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्।
गहीरो प्वालले मलाई निल्न नदिनुहोस्।
मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।
म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।
म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्।
18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।
मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।
यर्मियाको चौथो गुनासो
18 तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
19 हे परमप्रभु ध्यान दिनुहोस्!
अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।
20 के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ?
अँह सम्झना गर,
म तपाईं समक्ष उभिएँ
अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन
तपाईंसित वकालत गरें।
तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।
21 यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्।
शत्रुका तरवारहरूले तिनीहरू परास्त होऊन्।
तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्।
यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्।
तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
22 जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ
तिनीहरूको घरमा ठूलो चित्कार होस्।
यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फँसाउन खाडल खने,
अनि मेरो खुट्टा समात्न पासो थापे।
23 हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ।
तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्।
तिनीहरूका पापहरू नमेटी दिनुहोस्।
मेरा शत्रुहरूलाई नष्ट गर्नु होस्।
जब तपाईं क्रोधित हुनुहुन्छ।
ती मानिसहरूलाई दण्ड दिनु होस्।
यहूदीहरूले प्रेरितहरूलाई रोक्ने प्रयास
17 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए। 18 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने। 19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने, 20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।” 21 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे।
प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए। 22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेनन्। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए। 23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।” 24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”
25 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासँग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।
© 2004, 2010 Bible League International