Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 146

146 परमप्रभुको प्रशंसा गरौं!
    हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
    जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
    किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
मानिसहरू मर्दछन् र गाडिन्छन्,
    अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
    ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
    परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
    परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
    परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
    परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
    परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
    तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
    हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।

परमप्रभुको प्रशंसा गरौं!

यशैया 59:9-19

पापले इस्राएलमा सङ्कट ल्याउँदछ

सबै न्याय र धार्मिकता हराएर गयो।
यहाँ हाम्रा सामु अन्धकार मात्र छ।
    यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ।
हामी चहकिलो प्रकाशको आशा गर्दछौं
    तर हामी सबैमा अन्धकार मात्र छ।
10 हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं
    हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँड्छौ।
हामी ठोकिन्दै लड्छौं मानौ यो रात हो,
    हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ
    मध्यदिनमा हामी मृत मानिस जस्तै लड्छौं।
11 हामी सबै अत्यन्त उदास छौं,
    ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकाल्छौ।
मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं।
    तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन।
हामी सुरक्षित हुन पर्खिरहेका छौं
    तर मुक्ति भने अझै टाढा छ।
12 किनभने हामीले धेरै पल्ट,
    गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ।
हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ।
    हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।
13 हामीले पाप गर्यौ
    र परमप्रभुको विरोधमा कर्म गर्यौ।
हामीले उहाँबाट मुख फर्कायौं
    र उहाँलाई त्याग्यौं।
हामीले परमेश्वरको विरूद्ध
    पापपूर्ण कुराहरू गर्यौं।
हामीले त्यस्ता कुभलो हुने कुराहरू
    मनमनै सोच्यौं त्यस्तो योजना बनायौं।
14 न्याय हामीबाट फर्केर टाढा गयो।
    सत्य टाढा नै उभिन्छ।
सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे।
    धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।
15 सत्य हराएर गयो।
    अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए।

परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्।
    परमप्रभुले ती सबै मन पराउनु भएन।
16 परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले
    उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ।
यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो
    र साथै आफ्नै धार्मिकता चलाउनु भयो,
    अनि मानिसहरूलाई उद्धार गर्नु भयो।
17 परमप्रभुले युद्ध तयार गर्नुभयो।
    परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो।
मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक
    र प्रबल प्रेमको लुगा लगाउनु भयो।
18 परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ।
    यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ,
    जसको हकदार तिनीहरू छन्।
परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ।
    यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।
19 तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन्
    अनि उहाँलाई सम्मान गर्छन्।
पूर्वका मानिसहरू डराउनेछन्,
    अनि उहाँको महिमाको आदर गर्नेछन्।
तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं,
    परमप्रभु झट्टै आउनु हुनेछ।

प्रेरित 9:1-20

शावलको जीवन परिवर्तन

त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”

त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।

10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!”

हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”

11 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ। 12 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”

13 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ। 14 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”

15 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु। 16 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”

17 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाइ, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

18 तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए। 19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।

शावलले दमीशकमा प्रचार गर्दछन्

शावाल केही दिनसम्म चेलाहरूसँग दमीशकमा बसे। 20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International