Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 32

दाऊदको मस्किल भन्ने भजन।

32 त्यो मानिस खुशी हुन्छ,
    जसका पापहरू क्षमा गरिएका छन्।
    त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
त्यो मानिस खुशी हुन्छ,
    जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
    त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
    तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
    जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
    म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
    परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
    अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
    तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
    तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
    यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
    र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
    म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
    ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
    तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
    जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

उत्पत्ति 4:1-16

पहिलो परिवार

आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”

तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।

पहिलो हत्या

केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो।

अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो। परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”

कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।

तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”

तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। 11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। 12 जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।”

13 तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो। 14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”

15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तँलाई मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।

कयिनको परिवार

16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।

हिब्रू 4:14-5:10

परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ

14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ। प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्। प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।

प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ। उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैंलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो:

“तिमी मेरा पुत्र हौ।
    आजदेखि म तिम्रा पिता भएँ।”(A)

धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो,

“मल्कीसेदेक जस्तो,
    तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।”(B)

जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो। 10 अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International