Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 2:15-17

15 तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो। 16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। 17 तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”

उत्पत्ति 3:1-7

पापको शुरु

परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौ।”

तर सर्पले स्त्रीलाई भने, “तिमीहरू निश्चय मर्ने छैनौ। परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।

भजनसंग्रह 32

दाऊदको मस्किल भन्ने भजन।

32 त्यो मानिस खुशी हुन्छ,
    जसका पापहरू क्षमा गरिएका छन्।
    त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
त्यो मानिस खुशी हुन्छ,
    जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
    त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
    तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
    जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
    म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
    परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
    अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
    तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
    तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
    यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
    र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
    म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
    ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
    तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
    जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

रोमी 5:12-19

आदम र ख्रीष्ट

12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। 13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। 14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।

आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। 15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। 17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। 19 एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्।

मत्ती 4:1-11

येशूको निम्ति कठिन परीक्षा

(मर्कूस 1:12-13; लूका 4:1-13)

यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ,

‘मानिस रोटी खाएर मात्र बाँच्दैन।
    परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”(A)

त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ,
    अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्,
जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’”(B)

येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ,

‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’”(C)

त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो। शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।”

10 येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ।
    अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’”(D)

11 त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International