Revised Common Lectionary (Complementary)
112 परमप्रभुको प्रशंसा गर!
कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
2 उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
4 सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
5 मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
6 त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
असल मानिसको सधैँ स्मरण गरिन्छ।
7 उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
8 त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
9 त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
तर त्यसपछि तिनीहरू अल्पिने छन्।
दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।
मोशा मानिसहरूलाई परमेश्वरको विधि-विधानहरू पालन गर्नु भन्छन्
4 “अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ। 2 मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
3 “बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुशरण गरेका थिए। 4 तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
5 “परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ। 6 यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
7 “जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्। 8 आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन। 9 तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ। 10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’ 11 तिमी नजिकै आयौ अनि पहाडको फेदमा उभियौ। त्यो पहाड जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो। 12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो। 13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो। 14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुशरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
परमेश्वरका बालकहरूले संसार जित्छन्
5 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। 2 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। 3 परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। 4 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। 5 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
© 2004, 2010 Bible League International