Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
37 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।
ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।
उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,
कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
खलामा
3 तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत् म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकुँ। त्यो तिम्रो निम्ति असल हुनेछ। 2 सम्भवत् बोअज नै सही व्यक्ती हुनसक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्। 3 जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्। 4 तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”
5 तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”
6 यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्। 7 खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।
8 आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्। 9 बोअजले भने, “तिमी को हौ?”
तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
10 तब बोअजले भने, “परमप्रभुले तिमीलाई आशिर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान् छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं। 11 अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ। 12 अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ, जो तिमीसित म भन्दा नजिकको आफन्त हो। 13 आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान नभएसम्म यहीं ढल्क।”
13 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। 14 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्। 15 यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन्, अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्। 17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
रूथ अनि बोअजका परिवार
18 पेरेसको पारिवारिक इतिहास यो होः
पेरेस हेस्रोनका पिता थिए।
19 हेस्रोन रामका पिता थिए।
राम अम्मीनादाबका पिता थिए।
20 अम्मीनादाब नहशोनका पिता थिए।
नहशोन सल्मोनका पिता थिए।
21 सल्मोन बोअजका पिता थिए।
बोअज ओबेदका पिता थिए।
22 ओबेद यिशैका पिता थिए।
यिशै दाऊदका पिता थिए।
येशूद्वारा मानिसहरूलाई शिक्षा अनि उपचार
(मत्ती 4:23-25; 5:1-12)
17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए। 18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो। 19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।
20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,
“हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ,
किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ,
किनभने तिमीहरू तृप्त हुनेछौ।
तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ,
किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ।
22 “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ। 23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार!
किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
25 तिमी अघाएकाहरूलाई, धिक्कार!
किनभने तिमीहरू भोकाउनेछौ।
तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार!
किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।
26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैँ प्रशंसा गरे।
© 2004, 2010 Bible League International