Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
27 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
यसैले म कोसैसँग डराउने छैन।
2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।
4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
“जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”
5 परमप्रभुले मलाई बचाउँनु हुन्छ।
जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
6 मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
34 त्यसपछि शमूएल त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के। 35 त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।
शमूएल बेतलेहेम जान्छन्
16 परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छस्? शाऊललाई मैले इस्राएलको राजपदबाट हटाइसकें तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
2 शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”
परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’ 3 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”
4 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
5 शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।
6 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
7 तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न जो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”
9 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”
10 यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”
11 शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”
यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।”
शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।”
12 यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो।
परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
13 शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
लेवी येशूलाई पछ्याउँछन्
(मत्ती 9:9-13; मर्कूस 2:13-17)
27 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” 28 लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।
29 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, 30 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”
31 येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। 32 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
© 2004, 2010 Bible League International