Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
40 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
उहाँले मेरा विलापहरू सुन्नुभयो।
2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
5 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
7 यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
म तपाईंको व्यवस्था जान्दछु।
9 मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।
11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”
शेब्नालाई परमेश्वरको सन्देश
15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो। 16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
17-18 “हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।”
परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्। 19 म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ। 20 त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो। 21 म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।
22 “म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन। 23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ। 24 आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।
25 “त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।
साँच्चो सुसमाचार एउटै मात्र छ
6 केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ। 7 वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। 8 हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। 9 हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।
10 अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सम्झन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।
पावलको अधिकार परमेश्वरबाट हो
11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन। 12 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैंले मलाई यो प्रकट गर्नु भएको हो।
© 2004, 2010 Bible League International