Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
64 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्।
मेरो शत्रुले मलाई धमास दिएको छ।
त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!
2 मेरो शत्रुहरूका षड्यन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।
ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।
तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्,
तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट
ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताक्छन्।
5 एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काउँछन्।
तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्।
तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
6 तिनीहरूले पासोहरू लुकाएका छन्।
तिनीहरूले शिकार खोजीरहेका हुन्छन्।
मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
7 तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!
अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।
8 दुष्ट मानिसहरूले अरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्।
तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ,
अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ।
तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हल्लाउने छन्।
9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्।
अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्।
तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ।
कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।
ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ,
तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।
बिल्ददले अय्यूबलाई जवाफ दिंदछ
18 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः
2 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ?
चुपलाग अनि सुन, हामीलाई केही भन्नदेऊ।
3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?
4 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ।
के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ?
के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?
5 “हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ।
उसको आगो जल्न छाड्नेछ।
6 उसको घरको प्रकाश अँध्यारो हुनेछ।
उसको छेउको बत्ती पनि निभ्ने छ।
7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्।
उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।
8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ
उ पासोमाथि हिँडनेछ र फँस्नेछ।
9 पासोले उसको एढी पक्रने छ।
पासोले उसलाई कस्सेर समात्ने छ।
10 भूईँमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ।
पासोले उसको बाटो पर्खनेछ।
11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ।
त्रासले त्यसको बढ्दो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
12 भोकले उसको शक्ति दुर्बल पार्छ।
जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ।
त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ।
उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।
15 उसले आफ्नो घरमा केही पनि छाडने छैन।
किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
16 उसको मुनिका जराहरू सुकेर जानेछन्
अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्।
कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।
18 मानिसहरूले उसलाई
उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
19 उसको न छोरा-छोरीहरू हुनेछ,
न त नाति-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ,
जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा,
पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ।
त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”
परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान
18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः
“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(A)
20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”(B)
© 2004, 2010 Bible League International