Revised Common Lectionary (Complementary)
दाऊदको मस्किल भन्ने भजन।
32 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
अब्शालोमले धेरै मित्रहरू बनाउँछन्
15 त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे। 2 बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्ति समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।” 3 तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।”
4 अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।”
5 अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अघि आएर झुकेर अभिवादन गरे भने, अब्शालोमले अघि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे। 6 अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए।
अब्शालोमले दाऊदको राज्य लिने योजना बनाउँछ
7 चार बर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्। 8 मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’”
9 राजा दाऊदले भने, “शान्तिसित जाऊ।”
अब्शालोम हेब्रोन गए 10 तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’”
11 अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए। 12 अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।
आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन
11 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। 2 तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, 3 “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”(A) 4 तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”(B)
5 यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। 6 अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।
7 यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्। 8 जस्तो धर्मशास्त्रमा लेखिएको छ,
“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”(C)
“परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्,
उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्।
अझसम्म त्यही भइरहेछ।”(D)
9 अनि दाउद भन्छन्,
“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्।
तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्।
अनि ती सदा कष्टमा परिरहुन्।”(E)
© 2004, 2010 Bible League International