Revised Common Lectionary (Complementary)
दाऊदको मस्किल भन्ने भजन।
32 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
अब्शालोमको प्रतिशोध
23 दुइ बर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेंडाका ऊन कात्रन आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। 24 अब्शालोमले राजालाई भने, “मैले भेंडाको ऊन कात्रन केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”
25 राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”
अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।
26 अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।”
राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”
27 अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।
अम्नोनको हत्या हुन्छ
28 तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनु। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”
29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।
दाऊदले अम्नोनको मृत्युको खबर सुने
30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”
31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुइँमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।
32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो। 33 मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”
34 अब्शालोम भागे।
शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे। 35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”
36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए। 37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।
अब्शालोम भागेर गेशुर गए
अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए। 38 भागेर गएपछि अब्शालोम तीन बर्ष सम्म गशूरमा बसे। 39 राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घट्यो, तर उसले अब्शालोलाई एकदमै गुमाए अनि उसलाई अतिनै हेर्न चाहन्थे।
परमेश्वरमा समर्पण
4 के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, 2 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। 3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।
4 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। 5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” 6 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”(A)
7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।
© 2004, 2010 Bible League International