Revised Common Lectionary (Complementary)
यात्राको एक गीत, दाऊदको भजन।
133 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
किनभने यो सियोनमा थियो,
जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।
9 “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप। 10 जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
11 “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूटो नबोल्नु। 12 मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।
13 “तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।
14 “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।
15 “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब भनि दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ। 16 मानिसहरूको विरूद्ध झूटा कुराहरू गरेर नहिँड। यस्तो कुनै काम नगर जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।
17 “तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ। 18 मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
असल सामरीको कथा
25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?”
27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।(A) अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(B)”
28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”
© 2004, 2010 Bible League International