Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
20 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!
6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
तर हामीले जित्यौं! हामी विजेता हौं।
9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!
योतामको कथा
7 योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएः
“शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।
8 “एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, ‘तिमी हामी माथि राजा बन।’
9 “तर भद्राक्षको रूखले भन्यो, ‘मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति गर्छन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?’
10 “तब रूखहरूले नेभाराको रूखलाई भने, ‘आऊ, अनि हाम्रो राजा बन।’
11 “तर नेभाराको रूखले उत्तर दियो, ‘के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नु?’
12 “त्यसपछि रूखहरूले अंङ्गुरको बोटलाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’
13 “तर अंङ्गुरको बोटले उत्तर दियो, ‘मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?’
14 “आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’
15 “तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।’
ख्रीष्टको शत्रुहरूलाई नपछ्याऊ
18 मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। 19 ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्।
20 तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। 21 मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
22 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। 23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।
24 जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। 25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
26 म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। 27 ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।
28 हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन।
© 2004, 2010 Bible League International