Revised Common Lectionary (Complementary)
कनानमा पहिलो निस्तार चाड़
9 त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।
10 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो। 11 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए। 12 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।
दाऊदको मस्किल भन्ने भजन।
32 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
16 अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। 17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। 18 यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। 19 मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। 20 यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। 21 ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
स्वर्गमा आनन्द
(मत्ती 18:12-14)
15 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँका कुराबरू सुन्न आए। 2 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।”
3 त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः
उड़न्ता पुत्र
11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए। 12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो। 14 आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। 15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। 16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
17 “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। 18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें 19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ 20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।
छोरो फर्किन्छ
“जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए। 21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। 23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। 24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
जेठो छोरोको आगमन
25 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो। 26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’ 27 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
28 “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे। 29 त्यो छोरोले बाबुलाई भन्यो, ‘मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरें। मैले सधैँ तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउँन सक्थें। 30 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको सँगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।’
31 “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो। 32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’”
© 2004, 2010 Bible League International