Revised Common Lectionary (Complementary)
परमेश्वरले तृप्त गराउने “भोजन” दिनुहुन्छ
55 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!
तिम्रोलागी पानी यहाँछ, आएर पिऊ!
पैसा छैन भनेर सुर्ता नगर।
आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ!
तिमीहरूलाई पैसा चाहिन्दैन,
खान र पिऊनुको ज्याला लाग्दैन।
2 किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन?
किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन?
एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ।
तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
3 मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्।
मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्।
मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ।
यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ।
मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ।
अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।
मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
5 ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,
तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ।
ती जातिहरूले तिमीहरूलाई जान्दैनन्
तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्।
यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ।
इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
6 यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ
एकदमै ढिलो हुनु अघि नै।
तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ
उहाँ नजिक भएको बेला।
7 दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ।
तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ।
तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ।
तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ।
ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ,
किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
मानिसहरूले परमेश्वरलाई बुझ्न सक्तैनन्
8 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्।
तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
9 आकाश पृथ्वी भन्दा अल्गो छ।
त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्
अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।”
दाऊदको एउटा भजन, जब तिनी यहूदाको मरुभूमिमा थिए।
63 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि
तपाईंकै निम्ति तिर्खाउँछ।
2 हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
मैले तपाईंको शक्ति र महिमा देखेको छु।
3 तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
4 हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा,
म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
5 मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
अनि मेरो प्रफुल्लित ओंठले तपाईंकै गुण गाउँनेछ।
6 म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
7 तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो।
म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
8 मेरो प्राण तपाईंमा अल्झिन्छ,
अनि तपाईं मेरो हात समाउनु हुन्छ।
यहूदीहरू जस्तै नहोऊ
10 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। 2 तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। 3 तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। 4 अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। 5 तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।
6 यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ। 7 तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।” 8 ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे। 9 जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ सर्पहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन। 10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।
11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्। 12 यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्। 13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
तिम्रो हृदय परिवर्तन गर
13 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए। 2 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ? 3 होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। 4 सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? 5 तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”
अनुपयोगी रुख
6 येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन। 7 त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने? 8 तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्। 9 हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’”
© 2004, 2010 Bible League International