Revised Common Lectionary (Complementary)
91 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 तिमीलाई केही नराम्रो हुनेछैन।
त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ,
अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्।
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 तिमीहरूले सिंहहरूमाथि
र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने,
म उसलाई बचाउँने छु।
जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्।
अनि म तिनीहरूलाई जवाफ दिने छु
म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,
म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
अनि तिनीहरूलाई बचाउँनेछु।”
10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्। 11 तिमीहरू आफैं गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”
12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशको प्रत्येक ठाउँमा गए। 13 कमाराका मालिकहरूले मानिसहरूलाई झन् कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए। 14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सक्थ्यौ भने अहिले बनाउन सक्छौ?”
15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौं, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ? 16 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”
17 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाँहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढ़ाउन खोज्छौ। 18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौं। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”
19 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।
20 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए। 21 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चै गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोड्ने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”
मोशा परमेश्वरसित शिकायत गर्छन्
22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो? 23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”
30 “चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। 31 जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। 32 परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’(A) मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
33 “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो। 34 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’(B)
© 2004, 2010 Bible League International