Read the New Testament in 24 Weeks
ख्रीष्ट सम्बन्धी क्रूसका सुसमाचार
2 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। 2 जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। 3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। 4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। 5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
परमेश्वरको ज्ञान
6 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन। 7 तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो। 8 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। 9 तर, जस्तो शास्त्रमा लेखिएको छः
“कुनै आँखाले पनि नदेखेको,
कुनै कानले पनि नसुनेको,
कसैले चिन्ता सम्म नगरेको कुरा
आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”(A)
10 तर परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।
आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ। 11 जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। 12 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।
13 जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं। 14 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। 15 तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः
16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ?
परमप्रभुलाई कसले अह्राउन सक्छ?”(B)
तर हामीसँगत त ख्रीष्टको मन छ।
मानिसलाई मान्नु भूल हो
3 दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो। 2 मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ। 3 तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ। 4 तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र?
5 अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं। 6 मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो। 7 यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। 8 रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। 9 हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।
अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो। 10 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। 11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। 12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। 13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन[a] आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। 14 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। 15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।
16 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।
18 कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। 19 किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” 21 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो 22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। 23 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।
© 2004, 2010 Bible League International