Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 14

योआबले दाऊदकहाँ एउटी ज्ञानी महिला पठाउँछन्

14 सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए। यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर। राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।

टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।”

राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?”

महिलाले भनिन्, “म विधवा हुँ। मेरा लोग्ने मरे। मेरो दुइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मार्यो। अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, ‘त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निशन नै मेटिने छ।”

तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

टकोमाकी त्यस महिलाले राजालाई भनिन्, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आवोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”

10 राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

11 त्यस स्त्रीले भनी, “दया गरी तपाईंले आफ्ना परमप्रभु तपाईंको परमेश्वरको नाउँ लिएर शपथ दिनोस् तपाईंले तिनीलाई रोकि दिनहुनेछ। तिनीहरूले उसकै भाइको मृत्युको बदलामा मेरो छोरालाई मार्न चाहन्छन्। दया गरेर मलाई विश्वास दिलाउनुहोस् कि मेरो छोरालाई तिनीहरूबाट बचाउनु हुनेछ।”

दाऊले भने, “म तिमीलाई परमप्रभुको जीउँदो नाममा भनिहरेछु कसैले पनि तिम्रो छोरालाई चोट पुर्याउन छैन। तिम्रो छोरोको शिरबाट एउटा केश पनि भूईमा खस्ने छैन।”

12 त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।”

राजाले भने, “भन।”

13 तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरूद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू, जब तपाईं नै यसो भन्दै हुनुहुन्छ भने तपाईंनै दोषी देखिनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोड्न बाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन। 14 एक दिन हामी सबै मर्ने नै हौं हामी भुइँमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ। 15 मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैंले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान। 16 मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’ 17 म निश्चित थिएँ कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहुन्।”

18 राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।”

त्यस स्त्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।”

19 राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”

त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्। 20 योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”

अब्शालोम यरूशलेम फर्कन्छ

21 राजाले योआबलाई भने, “मैले अघिनै निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।”

22 योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”

23 तब योआब गेशूर गएर अब्शालोमलाई यरूशलेम लिएर आए। 24 तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन।

25 मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन। 26 प्रत्येक बर्षको अन्तमा अब्शालोमले टाउकोको कपाल काट्थे र तौलन्थे। कपालको ओजन झण्डै 200 शेकेल हुन्थ्यो। 27 अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाउँ तामार थियो। तामार साह्रै सुन्दर थिई।

अब्शालोमले योआबलाई भेट गर्न बाध्य गराउँछ

28 अब्शालोम पूरा दुइ बर्ष यरूशलेममा राजासँग भेट नगरी बसे। 29 अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहाँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्।

30 त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।”

यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए। 31 योआब अब्शालोमका घर आए। योआबले अब्शालोमलाई भने, “तिम्रा नोकरहरूले मेरो खेतीमा किन आगो लगाए?”

32 अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थें। म तिमीद्वारा राजालाई सोध्न चाहान्थें किन मलाई गेशूरबाट यहाँ ल्यायौ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेट्न देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।”

अब्शालोमले राजा दाऊदको दर्शन गर्छन्

33 तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेट्न आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्।

2 कोरिन्थी 7

प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।

पावलको आनन्द

हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं। मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं, म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु।

जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर। तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।

मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो। अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं। 10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ। 11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो। 12 त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो। 13 त्यसैकारण हामी सुखी थियौं।

हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए। 14 मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गर्यौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँच्चो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँच्चो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ। 15 अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ। 16 म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पुरै विश्वास गर्न सक्छु।

इजकिएल 21

21 यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन। इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु। म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु। तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउँनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।’”

परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दु:खमा परेको मानिसको जस्तो दु:खको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ। तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दु:खको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।

तरवार तयार छ

परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ:

“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो,
    अनि तरवारमा सान लगाइएको छ।
10 तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ।
    बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ।
मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो।
    तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।
11 यसकारण तरवारलाई टल्काइएको हो।
    अब यो प्रयोग गर्न सकिन्छ।
तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ।
    अब यो मार्नेको हातमा दिइसकेको छ।

12 “‘हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किनकि तरवारको प्रयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट। 13 किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,

“तरवार दुइ पल्ट आवोस्, या तीन पल्ट!
    यो तरवार मानिसहरू मार्नुका निम्ति हो।
यो तरवार हो, ठूलो नर-संहारका निम्ति!
    यो तरवारले मानिसहरूलाई काट्नेछ!
15 तिनीहरूको हृदय डरले पग्लिनेछ,
    अनि धेरै मानिसहरू लड्नेछन्,
धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्।
    तरवार बिजुलि जस्तै चम्कनेछ।
    यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो।
16 हे तरवार! धारिलो हो!
    तरवार दाहिनेपट्टि काट
    सीधै छेउमा काट देब्रे पट्टि काट,
जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ।

17 “तब म ताली बजाउनेछु,
    अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु।
म, परमप्रभुले नै भनेको हुँ।”

यरूशलेम सम्मको बाटो छान

18 परमप्रभुको वचन फेरि मकहाँ आयो, 19 “हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ। 20 जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ। 21 यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको प्रयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो।

22 “संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग नष्ट गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शुरू गर्नेछन्। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ। 23 इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।”

24 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ। 25 अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”

26 परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्। 27 म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।”

अम्मोनको बिरूद्धमा अगमवाणी

28 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ:

“‘ध्यान देऊ, एउटा तरवार!
    एउटा तरवार म्यानबाट बाहिर छ।
    तरवार टल्काइएको छ!
तरवार मार्नको निम्ति तयार छ!
    बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो!

29 “‘तिम्रो दर्शन व्यर्थ छ।
    तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन।
    यो झूठ्ठो अगमवाणी हो।
अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ।
    तिनीहरू चाँडै मर्नेछन्।
अन्त्यको दिन आइपुगेको छ।
    तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।

बाबेलको बिरूद्धमा अगमवाणी

30 “‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ। 31 म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्। 32 तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौ। तिम्रो रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।’”

भजनसंग्रह 68

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।

हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।
    उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्।
हावाले धूवाँलाई फुके जस्तै
    तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्।
मैन अगोमा पग्लिए जस्तै
    तपाईंको शत्रुहरू नष्ट होऊन्।
तर धर्मी मानिसहरू सुखी छन्,
धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्।
    धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
    परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
    उहाँको नाउँ “याह”[a] हो उहाँको नाउँको प्रशंसा गर!
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
    उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ।
    उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ।
    तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।
    तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।
हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो,
    तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।
हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो,
    क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।
10 तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए।
    हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।
11 परमेश्वरले आज्ञा दिनुभयो
    अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए।
12 “शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए।
    नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन्,
    जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए।
    ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँड्ने छन्।
13 तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्।
    तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”

14 जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो।
    ती झरिरहेका हिमपात जस्तै थिए।
15 परमेश्वरको पर्वत बाशान पर्वत हो।
    बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो।
16 हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ?
    परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ।
    उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो।
17 परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो।
    उहाँको पछि लाखौंलाख रथहरू छन्।
18 उहाँ उच्च पर्वत माथि-माथि जानु भयो।
    ती मानिसहरूसित जो उहाँका विरूद्ध भए
कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै
    पुरूषहरूबाट उपहार लिनलाई,
    परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।
19 परमप्रभुको प्रशंसा गर!
    प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ।
    जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।

20 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ।
    परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
21 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ।
    परमेश्वरले उहाँको विरूद्ध लड्नेहरूलाई दण्ड दिनुहुनेछ।
22 मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु,
    म पश्चिमबाट शत्रु ल्याउनेछु।
23 यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक,
    यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप्-ल्याप् चाट्ने छन्।”
24 हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको!
    हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको!
25 आगाडि गायकहरू हिँडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिँड्दैछन्।
    तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।
26 समुदायहरूमा परमेश्वरको प्रशंसा गर!
    हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!
27 त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका।
    अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्।
    अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।

28 हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्!
    हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।
29 राजाहरूले आफ्नो सम्पत्ति
    तपाईंको महल यरूशलेममा ल्याउने छन्।
30 मिश्रमा भएका ती “मानिसहरूलाई” तिम्रो लठ्ठीले सधाऊ।
    तीनीहरू मानिसहरूको चरणमा भएका “पशुहरू” जस्ता छन्।
    “बाछाहरूको” माझमा “साँढेहरू” जस्ता छन्।
तिनीहरूलाई तिमीले अनुशरण गर्ने बनाऊ।
    तिनीहरूले आज्ञा मान्छन्।
तिमीले ती जातिहरूलाई युद्धमा हरायौ।
    अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
31 मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ,
    एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।
32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ।
    हाम्रो स्वामीको स्तुति-गान गर!

33 परमेश्वरकोलागि गीत गाऊ!
उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।
    उहाँको शक्तिशाली आवाज सुन!
34 परमेश्वरको प्रशंसा गाऊ,
    किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ
    अनि उहाँको शक्ति आकाशमा छ।
35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।
इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो,
परमेश्वरको प्रशंसा गर।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International