Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 7

दाऊदले मन्दिर बनाउन चाहे

राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो। राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”

नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”

तर त्यही रात परमप्रभुको आदेश नातानलाई आउँछ। परमप्रभु भन्नुहुन्छ,

“मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ। इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैँ पालमै थिएँ। पाल नै मेरो घर थियो। मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिनँ। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’

“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु। 10-11 म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्। शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्यायकर्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन।

12 “‘जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु। 13 उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु। 14 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्। 15 तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हट्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन। 16 तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।’”

17 नातानले दर्शनको विषयमा दाऊदलाई भने। उसले परमेश्वरका वचनको विषयमा प्रत्येक कुराहरू दाऊदलाई बताए।

दाऊदले परमेश्वरलाई प्रार्थना गर्छन्

18 तब राजा दाऊद परमप्रभुको सामुने बसे। दाऊदले भने,

“हे परमप्रभु तपाईंले मेरो परिवालाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु। तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो? 19 म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो? 20 मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन। 21 तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौं। 22 परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।

23 “तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो। 24 तपाईंले इस्राएलका मानिसहरूलाई सधैँको निम्ति आफ्नो बनाउनु भयो। अनि परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो।

25 “अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिंदैहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्। 26 तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’

27 “तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ। 28 परमप्रभु मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घट्ने छन्। 29 मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैँ तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैंले यसो भन्नु भएको थियो। तपाईं आफैंले मेरा परिवारलाई सधैँ भरिको निम्ति आशीर्वाद दिनुभयो।”

2 कोरिन्थी 1

ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ। जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो। ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं। यदि हामीले कष्टहरू पार्यौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झैं धैर्यसित कष्ट सहन सहायता दिन्छ। तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ।

दाज्यू-भाइ र दिदी-बहिनीहरू हो। एशिया प्रदेशमा हामीले भोगेका कष्टहरूको बारेमा पनि तिमीहरूले जानिराख भन्ने हामी चाहन्छौं। त्यहाँ हामी ठूलो कष्टमा थियौं। हाम्रा सहने शक्ति भन्दा कष्ट धेरै थियो। हामीले त बाँच्ने आशा पनि छोडिसकेका थियौं। हामीले साँच्चै सोच्यौं की हामी निश्चय मर्ने छौं, यो यस्तो भयो की हामीले आफूमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट ब्यूँताउँनु हुन्छ। 10 परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्यैं ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ। 11 अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।

पावलको योजनामा परिवर्तन

12 यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन। 13 हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पुरै बुझ्नेछौ। 14 तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।

15 म यी कुराहरूमा ढुक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दुइ पल्ट आशीर्वाद पाउने थियौ। 16 म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ फर्कंदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदिया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ। 17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन। 19 परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सधैँ “हो” हो। 20 परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सधैँ “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं। 21 अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ। 22 हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

23 म तिमीहरूलाई यो भन्छु अनि यो साँच्चो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस् भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुःखाउनु चाहन्नथें। 24 मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।

इजकिएल 15

15 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अँहँ। के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अँहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ! यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ? यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ! यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो। “म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्। म त्यस देशलाई पुरै नष्ट गर्नेछु किनभने झुठ्ठा देवताहरूको आरधना गर्न तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

भजनसंग्रह 56-57

प्रमुख संगीतकारलाई: “सुदूर ओक्मा ढुकुर” भन्ने रागमा दाऊदको “मिक्ताम” भन्ने भजन। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रिए।

हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे,
यसैले मप्रति तपाईंको कृपादान रहोस्।
    तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
    त्यहाँ अनगन्ति लडाकुहरू छन्।
जब म भयग्रस्त हुन्छु,
    तब तपाईंमाथि भरोसा राख्दछु।
म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न,
यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
    उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
मेरा शत्रुहरूले सधैँ मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्।
    तिनीहरूले सधैँ मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
तिनीहरू सधैँ लुक्छन्
    अनि जसरी पनि मलाई मार्ने मौका हेर्दै,
    मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
    तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तड्पाउनु टाढा पठाइदिनुहोस्।
तपाईं जान्नुहुन्छ म कति डराएको छु।
    तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें।
    निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।

यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।
    जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु,
    म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ,
    कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
    म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
11 म परमेश्वरमा भरोसा गर्छु,
    यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
    म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
    यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु,
    त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्न सक्छन्।

प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम” भन्ने भजन। जुन समय दाऊद शाऊलबाट भागेर ओडारमा लुकेका थिए।

हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।
    मप्रति दयालु हुनुहोस्,
किनभने म तपाईंको शरणमा आएकोछु।
    जबसम्म कष्ट हराँउदैन, म तपाईंको संरक्षणमा छु।
म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु
    अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ
    र बचाउँनु हुन्छ।
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ।
    परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

मेरो प्राण विपदमा छ।
    मेरा शत्रुहरू चारैतिर छन्।
तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत
    अनि तरवार जस्तो धारिलो जिब्रो लिएर
    मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।
    तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ।
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए।
तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।

हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।
    म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
हे मेरो प्राण जाग!
    वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर!
    प्रभात फेरि लगाऊ।
हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।
    प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
10 तपाईंको स्नेहपूर्ण करूणा,
    आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्।
    उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International