M’Cheyne Bible Reading Plan
शाऊलको मृत्यु
31 पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए। 2 पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।
3 त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए। 4 शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।
5 नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो। 6 यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।
पलिश्तीहरूले शाऊलको मृत्युमा आनन्द मनाए
7 बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे।
8 अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए। 9 पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए। 10 तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लास चाँहि बेतशानको भित्तामा झुण्डाए।
11 याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने। 12 यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए। 13 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्।
11 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।
मालिकको अधीनमा हुनु
2 म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ। 3 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।
4 हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ। 5 तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छे। तब ऊ शिर खौरेकी स्त्री जस्तै हुन्छे। 6 कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।
7 पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किनकि ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो। 8 पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो। 9 अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो। 10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।
11 तथापि प्रभुमा स्त्री पुरुषकोलागि महत्वपूर्ण छ र पुरुष स्त्रीको लागि महत्वपूर्ण छ। 12 यो साँच्चो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।
13 यो आफैं निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला? 14 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ। 15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ। 16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।
प्रभुको भोज
17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। 18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। 19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। 21 किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। 22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन।
23 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।” 25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” 26 जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।
27 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ। 28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। 29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ। 30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए 31 तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। 32 तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ।
33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख। 34 कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।
9 तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नों ध्वंशक हतियार थियो। 2 तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैंलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए। 3 तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो सङ्घारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो।
4 तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दु:खी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”
5-6 तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुशरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर। तिनीहरू माझ जसको निधारमा चिन्ह छैन प्रत्येकलाई मार्न तिमीले तिम्रो हतियारहरू प्रयोग गर्नु पर्छ। कुनै दया नदेखाऊ। तिनीहरूलाई नछोड यहाँ मेरो मन्दिरबाट शुरू गर।” यसकारण तिनीहरूले मन्दिर भित्रको बूढा-पाकाहरूबाट शुरू गरे।
7 परमेश्वरले उसलाई भन्नुभयो, “यो मन्दिरलाई अपवित्र बनाइदेऊ। यो चोकहरू लाशले भरिदेऊ!” यसकारण तिनीहरू गए अनि तिनीहरूले शहरमा मानिसहरू मार्न थाले।
8 जब ती मानिसहरूले, मानिसहरूलाई मार्न गए, त्यति बेला म त्यहीं उभिरहें। मैले मेरो शिर भूईतिर निहुराएर कराए, “परमप्रभु मेरो मालिक तपाईं यरूशलेमको विरूद्ध क्रोध प्रकट गर्नका निम्ति तपाईंले इस्राएलमा बाँचेका सबै मानिसहरू मार्दैहुनु हुन्छ?”
9 परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किनभने मानिसहरू स्वंय भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’ 10 अनि म दया देखाउँने छैन्। म तिनीहरूका निम्ति अफसोस अनुभव गर्ने छैन। तिनीहरू स्वंयले यो बोलाएका हुन्, म यिनीहरूलाई मात्र दण्ड दिंदैछु जसको यिनीहरू पात्र हुन्।”
11 तब सूती लुगा लगाए र लेखकको लेख्ने साधनहरू लिने मानिस बोल्यो। उसले भन्यो, “मैले त्यो गरें जुन तपाईंले आज्ञा दिनु भएको थियो।”
कोरह परिवारहरूको उपासनाको भजन।
1 परमप्रभु महान् हुनुहुन्छ।
उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
2 परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!
यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ!
सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत[a] हो,
यो महान् राजाको शहर हो।
3 त्यस शहरको राजमहलमा,
परमेश्वरलाई किल्ला भनिन्छ।
4 एक समय, केही राजाहरू आपस्तमा भेट गरे।
तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे।
तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
5 तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।
तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!
6 डरले ती राजाहरूलाई कस्सेर समात्यो।
ती राजाहरू डरले कामे।
7 हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो
अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।
8 हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।
तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं,
सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!
9 हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,
मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्।
तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।
यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
12 सियोनको चारैतर्फ हिंड्।
शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
13 अग्ला पर्खालहरू हेर,
सियोनका राजमलहरूको प्रशंसा गर।
तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।
14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।
© 2004, 2010 Bible League International