Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 25

दाऊद र मूर्ख नाबाल

25 शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे।

त्यसपछि दाऊद पारानको मरुभूमितिर लागे माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेंडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेंडाको ऊन कत्रन गयो। त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन्। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।

नाबालले भेंडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरुभूमिको क्षेत्रमा नै सुने। दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।” उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्। मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेंडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्। तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”

दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए। 10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्। 11 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेंडाहरूबाट ऊन कत्रँने नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैन्।”

12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए। 13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।

अबीगेलले विपत्ती टारिन्

14 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए। 15 ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेंडाहरू मैदानमा लिएर जान्थ्यौं। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्। 16 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेंडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो। 17 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”

18 अबीगेलले हतार-हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेंडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्। 19 त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।

20 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।

21 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरुभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो। 22 यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”

23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्। 24 तिनको अनुहार दाऊदको अघि भूईँमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्। 25 तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख,’ भए जस्तो ऊ पनि मूर्ख नै छ। 26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्। 27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्। 28 मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुन्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्। 29 यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ। 30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ। 31 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”

32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर। 33 तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ। 34 साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”

35 त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”

नाबालको मृत्यु

36 अबीगेल घर फर्किन्। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। ऊ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुन्जेल अबीगेलले केही भनिन। 37 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो। 38 झण्डै दश दिनपछि परमप्रभुले नाबाललाई मृत्यु दण्ड दिनुभयो।

39 दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”

त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो। 40 दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”

41 अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”

42 हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेंलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्। 43 दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए। 44 दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।

1 कोरिन्थी 6

ख्रीष्टियनहरूमाझ न्यायको समस्या

तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ? के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ? तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं। यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।

म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्। तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।

एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैंँ ठगिदैनौ? तिमी आफैं गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाइहरू माझ!

9-10 अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैं धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्याभिचार, जो पुरूषगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्काको निन्दा गर्छ र अरूलाई ठग्छ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। 11 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।

परमेश्वरको महिमाको निम्ति शरीरको उपयोग

12 “सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्। 13 “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ। 14 परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बौराउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बौराउनु हुनेछ। 15 तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन। 16 शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।”(A) यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ। 17 तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ।

18 यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ। 19 तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मंदिर[a] हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होइनौ। 20 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

इजकिएल 4

“हे मानिसको छोरो! एउटा ईंटाका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ। अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ। अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।

“त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति बर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ। तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदैछु इस्राएल एक दिन एकबर्षको बराबर लामो समयसम्म दण्डीत हुनेछ।

“तब तिमी तिम्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक बर्ष हुन्छ। म तिमीलाई बताउँदैछु कि कहिले सम्म यहूदा दण्डीत हुनेछ।”

परमेश्वरले फेरि भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ। हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”

परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहुँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ। 10 तिमीले तिम्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ। 11 अनि तिमीले दिनमा एक हिनको छैटौं भाग मात्र पानी पिउन सक्छौ। 12 प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।” 13 तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”

14 त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”

15 तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”

16 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्। 17 किनभने मानिसहरूको निम्ति प्रयाप्त भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कालाई हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।

भजनसंग्रह 40-41

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
    उहाँले मेरा विलापहरू सुन्नुभयो।
परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
    उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
    अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
    धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
    तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
    यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
    तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
    म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
    तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
    तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
    जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
    म तपाईंको व्यवस्था जान्दछु।
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
    अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
    मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
    मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।
11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
    तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”

12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्।
    तिनीहरू अनगन्ती छन्!
मेरा पापहरूले मलाई पक्रियो,
    अनि म तिनीहरूबाट भाग्न सक्तिन।
तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्।
    मैले मेरो आँट हराएको छु।
13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्!
    हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!
14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्।
    हे परमप्रभु, ती मानिसहरूलाई लज्जित
    र निराश बनाई दिनुहोस्।
तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्,
    तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
15 ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्।
    तिनीहरू बोल्नलाई पनि संकोच होस्!
16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन।
    तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।”

17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ,
    मलाई सहायता गर्नुहोस्।
मलाई रक्षा गर्नु होस्।
    हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,
    त्यसैले धेरै आशीर्वादहरू पाउनेछ।
    जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।
    त्यो मानिस पृथ्वीमा धन्य हुनेछ।
    परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन।
जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।
    त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।

मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।
    मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।
    तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”
मानिसहरू मलाई हेर्न आउँछन्।
    तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्।
तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्,
    अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।
मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।
    तिनीहरूले मेरो विरूद्ध षड्‌यन्त्रहरू गरिरहेछन्।
तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो
    त्यसैले गर्दा ऊ बिमारी भयो।
    हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”
मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें।
    तर अहिले, ऊ मेरो बिरोधी भएकोछ।
10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।
    मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु।
11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।
    तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।
    तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

13 परमप्रभु, इस्राएल का परमेश्वर धन्यको हुनुहुन्छ।
    उहाँ सधैँ हुनुहुन्थ्यो, अनि उहाँ सधैँ हुनुहुनेछ।

आमेन, आमेन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International