M’Cheyne Bible Reading Plan
शमूएल बेतलेहेम जान्छन्
16 परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छस्? शाऊललाई मैले इस्राएलको राजपदबाट हटाइसकें तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
2 शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”
परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’ 3 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”
4 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
5 शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।
6 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
7 तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न जो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”
9 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”
10 यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”
11 शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”
यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।”
शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।”
12 यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो।
परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
13 शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
शाऊललाई दुष्ट आत्माले सताउन थाल्यो
14 परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। 15 शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो। 16 हामीलाई आदेश दिनुहोस् हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”
17 शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले सँगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”
18 एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। ऊ साह्रै वीर र युद्ध गर्न जान्दछ। ऊ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
19 यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेंडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”
20 यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो। 21 यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए। 22 शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।”
23 जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।
अरूको भर्त्सना नगर
14 कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर। 2 आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि ऊ खाली साग-सब्जी मात्र खान सक्छ। 3 अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ। 4 तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ। 6 जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ।
7 हो, हमी सबैजना प्रभुको लागि बाँच्दछौं। हामी आफ्नै निम्ति बाँच्दैनौं अथवा आफ्नै निम्ति मर्दैनौं पनि। 8 यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं। 9 यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्नु भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।
10 तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यू-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँच्नु हुन्छ। 11 हो, धर्मशास्त्रमा लेखिएको छः
“‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ,
‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ;
अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’”(A)
12 यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।
अरूलाई पापी भनेर दोष नलगाऊ
13 यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्। 14 म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।
15 केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो। 16 आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ। 17 परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। 18 कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।
19 यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्। 20 भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो। 21 मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।
22 यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ। 23 तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।
सियोनको उजाड र दु:ख
1 हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो।
तर अहिले यो शहर नितान्त शुन्य भएको छ।
यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो,
तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएकी छे।
यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई।
तर अहिले यो नोकर जस्तो भएकी छे।
2 त्यो रातभरी साह्रै दु:ख मानी रून्छे।
उसको गालामा आँसुको धारा बगिरहन्छ।
उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन
यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू
यसका साथीहरू हुने गर्थे।
उसका सारा मित्रहरूले उसपट्टि पिठ्यूँ फर्काए।
तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।
3 यहूदा अति नै पीडीत भयो,
अनि यहूदालाई कैदी बनाइयो।
यहूदा अन्य जातिहरू माझमा बस्थे।
तर उनले कतै शान्ति पाएनन्।
मानिसहरू जसले उनलाई खेदे
अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।
4 सियोन जाने बाटो एकदम उदास छ।
तिनीहरू दु:खी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन्।
सियोनका सारा प्रवेशद्वारहरू भत्काईए।
सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन्
सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो।
अनि यी सबै कुराहरूले सियोनप्रति आघात पार्छ।
5 यरूशलेमका शत्रुहरू विजय भएका छन्।
उनीहरू सफल भएका छन्।
यरूशलेमले थुप्रै पापहरू गरेकाले
परमप्रभुले दण्ड दिनुभएको छ।
उसका नानीहरू
शत्रुहरूद्वारा पक्रेर टाढा लगिए।
6 छोरी सियोनको सुन्दरता लोप भएको छ।
यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए।
दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।
7 यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको,
अतीतमा उसित राम्रा-राम्रा चीजहरू भएको सम्झन्छे।
उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको,
र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे।
जब उसलाई आफ्नो शत्रुहरूले देखे र तिनीहरू हाँसे।
किनभने ऊ ध्वंश भएकी थिई।
8 यरूशलेमले धेरै पापहरू गरेकी थिई।
अनि त्यसैले गर्दा ऊ नष्ट भएकी छे।
यसलाई देखेर मानिसहरूले मुन्टो फर्काउँछन्।
विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे।
तर अहिले उनीहरू उसलाई घृणा गर्छन्।
उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन्
यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
9 यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्।
भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन।
उसको दुर्दिनलाई यसको पतन भयङ्कर भयो।
उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्।
ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दु:खित छु।
हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”
10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्।
तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्।
हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी,
तपाईंले भन्नुभएको थियो,
कि ती मानिसहरू हामीहरूसँग मिसिनु हुँदैन।
11 यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्।
उसका सबै मानिसहरू भोजन खोज्दैछन्।
तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू,
खाने कुराहरूसित साट्दैछन्।
तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्।
यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्।
म तुच्छ ठानिन्छु।
12 यताबाट भएर जाने सबै मानिसहरू,
तिमीहरू पर्वाह गर्दैनौ।
तर म प्रति हेर्नुहोस्,
के मेरो जस्तो पीडा कसैको छ?
जुन मलाई आई पर्यो?
के त्यहाँ मेरो जस्तै पीडा,
परमप्रभुले अरू कसैलाई दिनु भएको छ र?
उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको छ।
13 परमप्रभुले माथिबाट आगो पठाउनु भयो।
त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो।
उहाँले मेरो खुट्टातिर जाल फिँजाउनु भयो।
उहाँले मलाई फर्काउनु भयो
र मलाई बाँझो भूमि तुल्य बनाउँनु भयो।
म दिनभरि शिथिल भएँ।
14 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्।
ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्।
परमप्रभुको जुवा मेरो गर्दनमाथि छ।
परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ।
जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ
परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।
15 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई
परमप्रभुले रद्द गर्नु भएको थियो।
अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो।
उहाँले ती मानिसहरू
मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो।
कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।
16 “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु।
मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्।
तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन।
मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन।
मेरा नानीहरू बाँझो भूमि जस्तै छन्।
तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”
17 सियोनले आफ्ना हातहरू फैलाई
तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्।
परमप्रभुले याकूबका शत्रुहरूलाई
आदेश दिनुभएको थियो।
परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो।
यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।
18 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें।
यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ।
यसकारण तिमीहरू सबैले सुने।
हेर मेरा पीडाहरू।
मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।
19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ।
तर तिनीहरूले मलाई धोका दिए।
मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे।
तिनीहरू खानाको खोजीमा थिए।
तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थें।
20 “हे परमप्रभु मलाई हेर्नुहोस्!
म दु:खमा परेकोछु!
मेरो प्राण अस्वस्थ छ।
मेरो हृदय अस्वस्थ छ
किनभने म विद्रोही भएको छु।
मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए।
घर भित्र मृत्युशोक व्याप्त छ।
21 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु।
मलाई सान्त्वना दिने कोही पनि छैन।
सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन।
त्यसेले तिनीहरू सुखी छन्।
किनभने तपाईंले मलाई यस्तो गर्नु भयो।
तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि,
मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ।
अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्।
अब त्यही गर्नुहोस्।
मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ,
त्यही अवस्थामा होउन्।
22 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्,
तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुन्छ,
मैले जस्तो पाप गरेको थिएँ मसित त्यस्तो व्यवहार गर्नु भएको थियो,
तिनीहरू संग पनि त्यस्तौ गर्नु होस्।
किनभने मेरो हृदय निर्बल छ, म व्यावस्थामा कराइरहेकीछु।”
दाऊदको मस्किल भन्ने भजन।
1 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
© 2004, 2010 Bible League International