Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 13

शऊलले पहिलो भूल गर्छन्

13 त्यसबेला शाऊलले राजाको रूपमा एक बर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुइ बर्ष भएको थियो, तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।

जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।”

शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।” सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।”

इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो। पलिश्तीहरू इस्राएलसित लड्नलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)

इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके। कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।

शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे। त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए। 10 तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।

11 शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?”

शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए। 12 मैले सोचें, ‘पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।’”

13 शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो। 14 अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्टाउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।” 15 त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए।

मिकमाशको युद्ध

शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्। 16 शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए।

पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए। 17 पलिश्तीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिश्ती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओप्रा जाने सडकबाट शूआल तर्फ लागे। 18 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो।

19 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ। 20 पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो। 21 पलिश्ती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बञ्चरो र गोरू धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाईं लाग्थ्यो। 22 यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।

23 पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।

रोमी 11

आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन

11 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”(A) तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”(B)

यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्। जस्तो धर्मशास्त्रमा लेखिएको छ,

“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”(C)

“परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्,
    उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्।
अझसम्म त्यही भइरहेछ।”(D)

अनि दाउद भन्छन्,

“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्।
    तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्।
    अनि ती सदा कष्टमा परिरहुन्।”(E)

11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। 12 यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

13 अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु। 14 म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु। 15 परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।

16 यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17 भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ। 18 यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं? त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ। 19 तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकुँ।” 20 त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन। 21 परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

22 यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ। 23 अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए 24 एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। 26 अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः

“उद्धारक सियोनबाट आउनु हुनेछ;
    उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ।
27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु
    जब तिनीहरूका पापहरू म हरण गर्नेछु।”(F)

28 यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो। 29 परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। 30 एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। 31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। 32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

परमेश्वरको प्रशंसा गर

33 हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। 34 जस्तो धर्मशास्त्रमा लेखिएको छः

“परमप्रभुको मन कसले जान्दछ?
    उहाँलाई सल्लाह कसले दिनसक्छ?”(G)

35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ?
    ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”(H)

36 हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

यर्मिया 50

बाबेलको बारेमा सन्देश

50 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।

“प्रत्येक जाति-जातिलाई यो घोषण गर,
    झण्डा उठाऊ र सन्देश प्रचार गर।
सम्पूर्ण सन्देश सुनाऊ र भन,
    ‘बाबेलको राज्य कब्जा गरिनेछ।
    बाल देवता लाजको पात्र हुनेछ।
    मरोदक देवता भयभीत हुनेछ।
बाबेलका मूर्तीहरू लज्जित हुनेछन्।
    उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ।
    त्यो जातिले बाबेललाई, जन-शून्य मरुभूमि तुल्य पार्ने छ,
कुनै मानिस पनि त्यहाँ बस्ने छैन्।
    दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”
परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू
    अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्।
तिनीहरू सँग-सँगै रूने छन्।
    अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्।
    तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्।
ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौं।
    एक त्यस्तो करार गरौं जुन सदा-सर्वदा रहनेछ।
    एक त्यस्तो करार गरौं जुन कहिल्यै भूलिने छैन्।’

“मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्।
    तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए।
तिनीहरूका अगुवाहरूले तिनीहरूलाई,
पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए।
    यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए।
    तिनीहरूका शत्रुहरूले भने,
‘हामीले गल्ती काम गरेका छैनौ
    किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे
जो तिनीहरूका साँचो आश्रय (घर) थियो।
    तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।’

“बाबेलबाट भाग।
    कल्दीहरूका भूमि छाडिदेऊ।
    बगालको अघि साँढ भेंडा़ जस्तै होऊ।
म उपद्रव मच्चाउनेछु
र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु।
यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्।
तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्।
तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन्
    र एउटै काँड पनि व्यर्थ जाँदैन्।
10 ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्।
    लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।

11 “बाबेल, तिमी उत्तेजित र खुशी छौ।
    किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ।
तिमी हरियो घाँसमाथि कोरली गाई झैं नाचिरहेका छौ।
    तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
12 तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन
    तिनी धेरै लज्जित हुनेछन्।
बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ।
    ऊ उदास र सूख्खा मरुभूमि हुनेछ।
13 परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ।
    बाबेल पूर्ण रूपले उजाड हुनेछ
    अनि त्यहाँ कोही पनि बस्ने छैन।
प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्मित हुनेछ
    र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।

14 “बाबेलसित युद्धको लागि तैयार होऊ।
    बाबेलमाथि काँडहरू हान,
    तिमीहरूको एउटा काँड पनि नजोगाऊ,
किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ।
15 सिपाहीहरूले बाबेललाई घेरे
    अनि विजय ध्वनि सुनाऊ।
बाबेलले आत्मासमर्पण गरेकोछ।
    उसका पर्खालहरू
र धरहराहरू धराशायी गराइयो।
    यो परमप्रभुबाट प्रतिशोध हो।
ऊमाथि वैरशुद्धि गर।
    अन्य जातिहरूलाई उसले के गर्यो
तिमीहरू उसलाई त्यसै गर।
16 तिनीहरूलाई अन्न रोप्न नदेऊ।
    तिनीहरूलाई बाली काट्न नदेऊ।
अहिले शत्रुका सिपाहीहरू आएका छन्।
प्रत्येक मानिस र तिनीहरू
    आफ्नो-आफ्नो गाऊँमा जाउन,
आफ्नो-आफ्नो देशमा जाउन।

17 “इस्राएल भेंडा़को बथान जस्तो छ,
    जो देशभरि नै छरिएका थिए।
इस्राएल भेंडा़को बथान जस्तो छ
जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ।
    जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो।
अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो
    त्यो बाबेलका राजा नबूकदनेस्सर हो।
18 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ:
‘म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु,
    त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।

19 “‘म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु।
    तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्।
    तिनीहरू खाएर तृप्त हुनेछन्।
    तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।’”
20 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म,
खोज्ने प्रयास गर्नेछन्।
    तर तिनीहरूले कुनै अधर्म पाउने छैनन।
तिनीहरूले यहूदाको पापहरू खोज्ने प्रयास गर्नेछन्
    तर तिनीहरूले कुनै पापहरू पाउने छैनन
किनभने जसलाई मैले बचाएँ,
तिनीहरूको पाप क्षमा गरेकोछु।”

21 परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर।
    पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर।
    तिनीहरूमाथि आक्रमण गर
    तिनीहरूलाई मार अनि सर्वनाश पार।
    मैले जुन कुरो दिएँ ती सब गर।

22 “सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ।
    यो विनाशको कोलाहल हो।
23 त्यो देश जसले सारा पृथ्वीलाई नै
    मार्तोलले हिर्कायो,
त्यो कटिएको छ र टुक्रिएको छ।
    बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।
24 हे बाबेल, मैले तिमीलाई पासो थापें
    अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ।
तिमी परमेश्वरको विरूद्ध लड्‌यौ,
    यसकारण तिमी बन्दी भयौ।
25 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो
    अनि क्रोधको हात-हतियार निकाल्नु भयो।
मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो,
    किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।

26 “सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ।
    अन्न-भण्डारहरू तोडी देऊ,
अन्नको थुप्रो झैं बाबेललाई थुपार
    अनि बाबेललाई पूर्ण नष्ट पार,
र कसैलाई पनि बाँच्न नदेऊ।
27 सारा साँढेहरू मार।
    तिनीहरूलाई कसाइकहाँ जानदेऊ।
तिनीहरूलाई धिक्कार!
    तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।
28 मानिसहरू बाबेलबाट भागिरहेका छन्।
    मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन्
तिनीहरू भन्दैछन्,
    ‘परमप्रभु हाम्रा परमेश्वरले उहाँको
    र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।’

29 “काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ,
    तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन।
शहर घेराबन्दी गर्नु भन।
    कसैलाई पनि नछोड।
तिनीहरूका कुकर्मका फल देऊ।
    अन्य जातिहरूलाई जसो गरेकी थिई
त्यसलाई त्यसै गर,
    किनभने इस्राएलका एक मात्र पवित्र
    परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।
30 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ
    र सेनाहरू मर्नेछन्।”
परमप्रभुले यो कुरा भन्नुभयो।

31 “बाबेल तिमी अति अंहकारी छौ
    अनि म तिम्रो विरूद्ध छु।”
    हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ,
“तिम्रो दिन आएकोछ,
    म तिमीलाई दण्ड दिनेछु।
32 घमण्डी बाबेल ठोकिएर लड्नेछ
    अनि कसैले पनि उनलाई उठाउने छैन।
म उसको शहरहरूमा आगो लगाउनेछु
    अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”

33 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो।
    तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन्,
    र मुक्त पार्न अस्वीकार गरे।
34 तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ।
    उहाँको नाउँ ‘सेनाहरूका परमप्रभु’ हो।
उहाँले तिनीहरूको मामलामा वकालत गर्नुहुनेछ,
    र पृथ्वीलाई आराम दिनुहुनेछ।
तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”

35 परमप्रभु भन्नुहुन्छ,
“बाबेलका बासिन्दाहरू,
राजाका हाकिमहरू
    र ज्ञानीहरूको विरूद्ध तरवार छ।
36 हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ
    ताकि तिनीहरू मूर्ख बनुन्,
बाबेलका सिपाहीहरूलाई मार
    ताकि तिनीहरू भयभीत हुन्।
37 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार।
अन्य देशका भाडाका सिपाहीहरूलाई मार
    ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन्।
तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग
    ताकि तिनीहरू लुटिउन्।
38 तरवार! पानीको मुहानहरू काट
    ताकि मुहानहरू सुकुन।
किनभने बाबेलमा धेरै मूर्तिहरू छन्
    अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्।
39 बाबेल फेरि मानिसहरूले भरिने छैन।
जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्,
    तर त्यहाँ फेरि कोही मानिस रहने छैन।
40 परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो
    अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो।
अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन।
    त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन्।
अनि कोही मानिस त्यहाँ बस्न जाने छैन।
परमप्रभु परमेश्वरले यो कुरा भन्नु भयो।

41 “हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्।
    एक शक्तिशाली जाति
र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।
42 तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्।
    सिपाहीहरू निष्ठूर छन्।
    तिनीहरूमा दया छैन।
सैनिकहरू घोडाहरूमा चढेर आउनेछन्
    अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ।
तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन।
    हे बाबेलकी छोरी।
43 बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए।
    उनका हातहरू चल्न छाडे।
उसलाई डरले घेर्यो,
    अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”

44 परमप्रभु भन्नुहुन्छ,
    “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही,
यर्दन नदी छेऊको घना जङ्गलबाट बाहिर निस्कन्छ।
    म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु।
म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु।
    म जस्तो को छ?
मलाई कसले बोलाउन सक्छ।
    गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”

45 बाबेलको विरूद्ध परमप्रभुले रच्नुभएको योजना सुन।
    “बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ,
र परमप्रभुले तिनीहरूको चरणभूमि
    पूर्णरूपले नष्ट पार्नु हुनेछ।
46 बाबेलको पतन हुनेछ,
    अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ।
हरेक जातिहरूका मानिसहरूले
    बाबेलको विनाशको बारेमा सुन्ने छन्।”

भजनसंग्रह 28-29

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
    मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
    मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
    जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
    मप्रति दया दर्शाउनु होस्।
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
    तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”[a] शब्दसँग स्वागत गर्दछन,
    तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
    यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
    तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
    उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
    अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।

परमप्रभुको प्रशंसा गर।
    उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
    म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
    र उहाँको प्रशंसाको गीत गाउँछु।
परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
    परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।

हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
    जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
    तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।

दाऊदको भजन।

परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[b] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International