Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 12

शमूएलले राजाबारे बताए

12 शमूएलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरें। अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”

सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”

शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”

तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हारूनलाई चुन्नुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो। अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।

“याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।

“तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे। 10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’

11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ। 12 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लड्न आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो। 13 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो। 14 यदि तिमीहरूले उहाँलाई सम्मान गर्यौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरूद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ। 15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।

16 “अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ। 17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”

18 यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्षाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए। 19 सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।”

20 शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्उन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर। 21 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिनीहरू केहि होइनन्।

22 “तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन। 23 अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोड्ने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ। 24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं। 25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”

रोमी 10

10 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ। यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्। ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ।

व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिँड्ने मानिस त्यसबाटै बाँच्नेछ।”(A) तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”) “र नभन, ‘पातालमा को जानेछ?’” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)

धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”(B) यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। 10 हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।

11 हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।”(C) 12 किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। 13 हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”(D)

14 तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। 15 तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”(E)

16 तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”(F) 17 यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।

18 तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ,

“तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्।
    तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”(G)

19 फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्,

“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन।
    एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”(H)

20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्:

“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्,
    तिनीहरूले नै मलाई पाए।
जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”(I)

21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ,

“सारा दिन मैले ती मानिसहरूलाई पर्खें,
    तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”(J)

यर्मिया 49

अम्मोनवंशीहरूको बारेमा एउटा सन्देश

49 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ:

“अम्मोनवासी हो, के तिमीहरू ठान्छौ कि
    इस्राएलका मानिसहरूका नानीहरू छैनन्?
के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्?
    तब किन मल्कामले गादको जमीन लियो?
किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”

परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले,
    युद्धको स्वर सुन्ने समय आउनेछ।
रब्बा एउटा नष्ट पहाड हुनेछ।
    वरिपरिका सबै गाउँहरू जलाइनेछन्
    र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए
तिनीहरूलाई इस्राएलका मानिसहरूले,
    बाहिर निकाल्नेछन्।”
यो सन्देश परमप्रभुबाट थियो।

“हे हेशबोनका मानिसहरू! विलाप गर।
    किनभने ‘ऐ’ शहर नष्ट भएको छ।
हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ।
    विलाप गर अनि पर्खालतिर दगुर।
मल्कम आफ्नो पूजाहारी,
    र अधिकारीहरूसित निष्कासन हुन्छ।
तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ।
    तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ।
हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्यौ,
    अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन।”
सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ:
“प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउँनेछु।
तिमीहरू सबैलाई खेदिनेछ,
    अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”

“त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

एदोमको बारेमा एउटा सन्देश

यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

“के तेमानमा केही ज्ञान बाँचेको छैन?
    के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो?
    के तिनीहरूले आफ्नो बिवेक हराए?
हे ददानका मानिसहरू हो, भाग, लुक!
    किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

“जब मानिसहरूले अङ्गुर बटुल्छन्,
    तिनीहरूले केही छाडछन्।
जब राती चोरहरू आउँछन्
    तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।
10 तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु।
    म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु
    अनि उ मबाट लुक्न पाउने छैन।
उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सड्नेछन्,
    अनि एसाव अस्तिवहिन हुनेछ।
11 आफ्ना अनाथहरूलाई छाडिदेऊ,
    म तिनीहरूलाई सुरक्षा दिनेछु।
तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”

12 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।” 13 परमप्रभु भन्नुहुन्छ, “म आफैं यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु:
    उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ,
उक्त संदेश यो होः
“आफ्ना सिपाहीहरूलाई भेला गर!
    र युद्धकोलागि तयार होऊ!
    अनि एदोम विरूद्ध अघि बढ!
15 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु।
    प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्।
16 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ,
    अनि स्वयंलाई महान ठानेका छौं।
तर तिमीहरू आफैंलाई मूर्ख बनायौ।
    तिम्रा घमण्डले तिमीलाई धोका दियो।
    तिमी फुटेको चट्टानमा बस्छौ, उच्च पहाडहरूमा बस्छौ।
तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि,
    बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”
यो परमप्रभुले भन्नुभएको हो।

17 “एदोम शोकको दृश्य बनिने छ
    अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन्,
    अनि यसका घाऊहरूमा खिसी गर्नेछन्।
18 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन्
    अनि त्यहाँ कोही पनि बस्ने छैन्।”
परमप्रभुले यसो भन्नुभयो।

19 “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेंडा़ र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

20 एदोमका मानिसहरूका निम्ति
    परमप्रभुले बनाउनु भएको योजना सुन।
सुन, तेमानका मानिसहरूका निम्ति
    परमप्रभुले के निर्णय लिनु भएको छ।
तिनीहरूले थुमाहरू घिसार्नेछन्।
    उसले सम्पूर्ण तिमीहरूको खेत नष्ट पार्नेछ।
21 एदोमको पतनको आवाजले पृथ्वी थर्किनेछ।
    तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।

22 अक्कासिने चील उँभो बेगले तल झरी
    आफ्नो पखेंटा बोज्रामाथि फिँजाउनेछ।
त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

दमिशकको बारेमा सन्देश

23 यो सन्देश दमिशक शहरसित सम्बन्धित छ:

“हमात र अर्पादका शहरहरू भयभीत छन्
    किनभने तिनीहरूले कुलक्षिणको खबर सुनेका छन्।
तिनीहरू डरले पग्लिए।
    तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।
24 दमिशक शहर कमजोर भयो।
    मानिसहरू भाग्न चाहन्छन्।
    आंतकले तिनीहरूलाई समातेको छ।
तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं
    वेदना अनुभव गरिरहेका छन्।

25 “मानिसहरूले प्रसिद्ध शहर,
    ‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्।
26 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा।
    उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।”
सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ।
27 “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु।
    त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”

केदार र हासोरका बारेमा सन्देश

28 यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे, परमप्रभु भन्नुहुन्छ:

“जाऊ र केदारलाई आक्रमण गर।
    पूर्व दिशाका मानिसहरूलाई नष्ट पार।
29 तिनीहरूको पालहरू, भेंडा़का बगालहरू,
    पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ।
    शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्।
मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्।
    डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।
30 भाग! छिटो भाग!
    हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज
किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु
एउटा युक्ति रचेकाछ।”
    यो सन्देश परमप्रभुबाट हो।

31 “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ।
    तिमीहरूको न कुनै फाटक छ नत कुनै पर्खालनै छ।
तिनीहरू एक्लो बस्छन्।
    यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।”
32 “शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्।
    आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई
म हावामा तितर-बितर पारिदिनेछु।
    सबै तिरबाट म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु।”
यो परमप्रभुको सन्देश हो।
33 “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ।
त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिँडडुल गर्ने छैन।
    सधैँका निम्ति यो एक शून्य उजाड मरुभूमि जस्तै हुनेछ।”

एलामको बारेमा सन्देश

34 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।

35 सेनाहरूका परमप्रभु भन्नुहुन्छ,
“हेर, म एलामको धनु भाँचिदिनेछु।
    धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो।
36 म आकाशको चारै कुनाबाट,
    एलामको विरूद्ध हावा ल्याउनेछु।
म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा
    जहाँ चारैदिशाबाट हावा बहन्छ,
    त्यहाँ छरपष्ट पारिदिन्छु,
कैदीहरूलाई हरेक जातिमा खेदी पठाउनेछु।
37 म एलामलाई तिनीहरूका शत्रुहरू
    जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन्
तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु।
    म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु।
मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।”
    यो परमप्रभुबाट आएको सन्देश हो।
“म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु
अनि त्यो तरवारले तिनीहरू सबैलाई
    शेष नपारन्जेल सम्म खेद्नेछ।
38 म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु
    र त्यहाँका राजा अनि भारद्वारहरूलाई ध्वंस पार्नेछु।”
यो परमप्रभुको सन्देश हो।
39 “तर पछिल्ला दिनमा एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।”
यो परमप्रभुले भन्नुभयो।

भजनसंग्रह 26-27

दाऊदको भजन।

हे परमप्रभु मेरो न्याय गर्नुहोस्।
म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्।
    म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।
    मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन,
    अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
म ती व्यर्थका मानिसहरू मध्येको होइनँ।
    म दुष्टहरूका संगतलाई घृणा गर्छु।
म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु।
    म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ।

हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्,
    म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ।
हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।
    म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।
    म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्।
    ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन।
    तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।
11 तर म निर्दोष छु।
    यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।
12 म सबै विपदहरूबाट सुरक्षित छु।
    हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु,
    त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
    मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
    यसैले म कोसैसँग डराउने छैन।
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
    तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
    अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
    यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
    किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
    “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
    अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

परमप्रभुले मलाई बचाउँनु हुन्छ।
    जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
    उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
    त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
    म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
    म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
    मलाई जवाफ दिनुहोस्।
    मलाई कृपादान गर्नुहोस्।
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
    म तपाईं समक्ष बोल्न आएँ।
हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
    मलाई साथ दिनुहोस्।
    मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
    मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
    तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
    मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
    मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
    परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
    बलियो र साहसी होऊ,
    अनि परमप्रभुको सहयोग पर्ख।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International