Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 10

शमूएलले शाऊललाई अभिषेक गरिदिए

10 शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ। आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’”

तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्। त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ। यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।

“म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।”

शाऊल अगमवक्ताको रूपमा

जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे। 10 शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो। 11 ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”

12 गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”

शाऊल घर पुग्छन्

13 शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।

14 शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?”

शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”

15 शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?”

16 शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।

शमूएलले शाऊललाई राजा घोषित गर्छन्

17 शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए। 18 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’ 19 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ।’ यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”

20 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। 21 शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो।

जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्। 22 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?”

परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”

23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।

24 शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”

त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”

25 शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।

26 शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही बीर पुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो। 27 तर कोही बद्‌माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।

अम्मोनीहरूका राजा नाहाश

अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।

रोमी 8

आत्मा र जीवन

यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।

जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।

तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। 10 किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। 11 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।

12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।

14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। 15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।” 16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। 17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

हामीले भविष्यमा महिमा पाउने छौ

18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।

22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।

26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। 27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।

28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। 29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो। 30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।

येशू ख्रीष्टमा परमेश्वरको प्रेम

31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,

“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
    मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”(A)

37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।

यर्मिया 47

पलिश्ती मानिसहरूका बारेमा सन्देश

47 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।

परमप्रभु भन्नुहुन्छ:
“हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्।
    तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्।
तिनीहरूले बाढीले झैं सारा देश शहरहरू
    र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्।
त्यस देशका मानिसहरूले विलौना गर्नेछन्
    तथा गुहार माग्नेछन्।
तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्,
    तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्,
    तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्।
बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्।
    तिनीहरू अति नै कमजोर हुनेछन्।
सोर अनि सिदोनलाई सहायता गर्न सक्ने
    त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि
पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ।
पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई
    परमप्रभुले नष्ट गर्नु हुनेछ।
गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्।
अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्।
    हे बेंसीमा बाँच्नेहरू हो!
    कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?

“हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ।
    कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ?
आफ्नो छापभित्र फर्केर जाऊ।
    रोक शान्त हौ।
तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ?
    परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।
उहाँले अश्कलोन र समुद्री किनारमा भएका
    शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।”

भजनसंग्रह 23-24

दाऊदको भजन।

परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

दाऊदको भजन।

पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
    यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
    उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

परमप्रभुको पर्वतमाथि को जान सक्छ?
    उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
    मानिसहरू जसका शुद्ध हृदयहरू छन्।
    मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
    अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।

असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
    ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
    तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।

हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
    सनातनका द्वारहरू, खोल,
    अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
महिमाका महाराज को हुनुहुन्छ?
    परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
    परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।

हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
    सनातनका द्वारहरू खुल्ला होऊ,
    र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
10 यो महिमाका महाराजा को हुनुहुन्छ?
    सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International