M’Cheyne Bible Reading Plan
4 इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे।[a]
पलिश्तीहरूले इस्राएलीहरूलाई हराए
त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले। 2 पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए।
पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए। 3 बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”
4 त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।
5 जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो। 6 पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुनें। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?”
पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ। 7 पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन। 8 हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए। 9 पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”
10 पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए। 11 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।
12 त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे। 13 त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले। 14-15 एली अन्ठानब्बे बर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे, “मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रुँदैछन्?”
उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए। 16 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!”
एलीले फेरि सोधे, “के भयो हँ छोरा?”
17 बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”
18 जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस बर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।
महिमाको अन्त भयो
19 एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्। 20 जब तिनी मर्नै लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिम्रो एउटा छोरा भयो।”
तर एलीकी बुहारीलाई त्यस दुःखको खबरले कुनै असर गरेन। 21 तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ “ईकावोद” राखिन्, जसको अर्थ “इस्राएलको महिमा लगियो!” उनले यो नाउँ राखीन् कारण परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुराको संकेत गराउँछ। 22 तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।
अब्राहामको उदाहरण
4 यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निष्कर्षमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके? 2 यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्। 3 धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”(A)
4 जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ। 5 कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेश्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेश्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ। 6 त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः
7 “धन्य हुन तिनीहरू
जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए।
धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न।
8 अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ,
त्यो मानिस साँच्ची नै खुशी हुँदछ।”(B)
9 यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो। 10 यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो। 11 परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ। 12 अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुशरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए
विश्वासद्वारा परमेश्वरको प्रतिज्ञा पाउन सकिन्छ
13 अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए। 14 यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो। 15 किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।
16 यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। 17 धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ”(C) यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।
18 अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।”(D) 19 अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। 20 परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। 21 आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए। 22 यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”(E) 23 ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन। 24 ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो। 25 येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
42 तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूलो दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए। 2 ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौं तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं। 3 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।”
4 तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”
5 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्। 6 परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।”
7 दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो। 8 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके। 9 तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ 10 ‘यदि तिमीहरू साँच्चै यस देशमा बस्छौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दु:खित छु। 11 तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। 12 म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’ 13 यदि तिमीहरू भन्छौ, ‘हामी यस देशमा बस्ने छौ,’ तब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। 14 तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक-भोकै बस्नुपर्दैन।’ 15 यदि तिमीहरूले ती कुराहरू भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन्, हे यहूदामा बाँचेर रहेका मानिसहरू! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीहरू मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिनीहरूलाई हुनेछ। 16 तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ। 17 प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’
18 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध बर्षाउनेछु। तिमीहरू श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’
19 “यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु। 20 तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’ 21 यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ। 22 यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मर्नेछौ।”
प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।
1 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
तपाईं मेरो शक्ति हुनुहुन्छ।”
2 परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।
3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
अनि म मेरो शत्रुहरूबाट बाँचे।
तर तिनीहरूले खिल्ली उडाए।
4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।
म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
5 चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,
मृत्युको पासो मेरो सम्मुख थियो।
6 म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो।
उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
7 पृथ्वी थर्कियो र काम्यो;
पर्वतहरूको जग हल्लियो।
किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।
परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला
अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
9 परमप्रभुले आकाश च्याति दिनु भयो,
अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।
उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो
उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!
13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।
15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
अनि शक्तिशाली हावा बहन थाल्यो।
पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं।
हामीले पृथ्वीको पिंध देख्न सक्यौं।
16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।
मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु!
मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।
22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु।
म उहाँको नियमहरू मान्दछु!
23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,
मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।
24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।
किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ।
यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।
25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्।
यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।
26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।
तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ
तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।
मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।
परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।
30 परमेश्वरको शक्ति पूर्ण छ।
उहाँको वचन प्रमाणित भएको छ।
उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,
त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।
उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।
35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।
तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।
37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु
तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।
सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,
युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
40 तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने
र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,
तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन।
तिनीहरूले परमप्रभुलाई समेत गुहारे,
तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें।
तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए।
मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।
43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्।
मलाई जातिहरूका अगुवा बनाउनु होस्।
मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्।
44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।
ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
45 ती विदेशीहरू डरले काम्नेछन्।
तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।
46 परमप्रभु जीवित हुनुहुन्छ,
म मेरो चट्टानलाई प्रशंसा गर्छु।
किनभने उहाँ महान् हुनुहुन्छ!
47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।
उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
48 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए,
तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो।
मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।
यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।
50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ!
उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ।
उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।
© 2004, 2010 Bible League International