M’Cheyne Bible Reading Plan
रूथले बोअजनलाई भेट्छिन्
2 बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका, एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए।
2 एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”
नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।”
3 यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।
4 पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।”
अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”
5 तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”
6 ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्। 7 ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन् अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊ परको घर उसको हो।”
8 तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न सँग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर। 9 कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
10 तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”
11 बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ। 12 तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”
13 तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”
14 दिनको खानको समयमा बोअजले रूथलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कामा भिजाएर खाऊ।”
यसर्थ रूथ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भूटेका अन्न दिए। रूथले नअघाएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए। 15 तब रूथ उठिन् अनि काममा फर्कि गइन्।
तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न सँग्रह गर्न देऊ। उसलाई नरोक्नु। 16 अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”
नाओमीले बोअजको बारेमा सुन्छिन्
17 साँझ नपरेसम्म रूथले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भूसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एपा जति जौं थियो। 18 रूथले सासूलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।
19 तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौ? तिमीले कहाँ काम गर्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।”
तब रूथले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाउँ बोअज हो।”
20 तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
21 तब मोआबी रूथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”
22 तब नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, उसकी नोकर्नीहरूसँग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान्।” 23 यसर्थ रूथले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिरहिन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। रूथ आफ्नी सासू नाओमीको साथ बसिन्।
पावल समुद्रयात्राद्वारा रोम
27 यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौं। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए। 2 हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढ्यौं जुन जानु तयार थियो। हामीसँग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।
3 अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसँग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्। 4 हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो। 5 हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ। 6 माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।
7 हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ। 8 खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नजिकै थियो।
9 तर हामीले निकै समय नष्ट गरेका थियौं। यो समुद्र यात्रा गर्नु भयङकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने, 10 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”
11 तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने। 12 अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो।
आँधी-तूफान
13 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे। 14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो। 15 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।
16 हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं। 17 जीवनरक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावओस् भनेर पाल मुनी झारे।
18 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके। 19 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए। 20 धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।
21 धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन। 22 तर अब म भनिरहेछु साहसी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ। 23 हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु। 24 उहाँले भन्नुभयो, ‘पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’ 25 मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ। 26 तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”
27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे। 28 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए। 29 तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे। 30 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्। 31 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!” 32 तब त्यो जीवनरक्षक डुंङ्गा पानी भित्रै जावओस् भनेर सिपाहीहरूले डोरी काटिदिए।
33 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू पर्खिरहेछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ। 34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।” 35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले। 36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले। 37 हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं। 38 जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरू समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।
जहाज नष्ट भयो
39 जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे। 40 यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो। 41 तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।
42 सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरिनु नपाउन् अनि भाग्न नसकुन्। 43 तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए। 44 अन्य मानिसहरूले तख्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।
यर्मिया कैदमा
37 नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए। 2 तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।
3 राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।”
4 त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे। 5 फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
6 परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो: 7 “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्। 8 त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ। 9 परमप्रभु भन्नुहुन्छ “बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैंलाई मूर्ख नबनाऊ।” तिनीहरू जाने छैनन्। 10 यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।’”
11 जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे 12 यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए। 13 तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”
14 यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे। 15 ती शाही अधिकारीहरू यर्मियासँग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथन एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए। 16 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।
17 त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?”
यर्मियाले जवाफ दिए, “ज्यू छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।” 18 तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो? 19 तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’ 20 तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”
21 यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकून्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।
1 हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ?
दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्।
अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
3 दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्।
ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
4 दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्।
तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
5 दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्।
तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्,
परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
6 तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन।
तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”
7 ती मानिसहरू सधैँ सरापी रहन्छन।
तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
8 ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन।
तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्,
तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
9 तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन्
जसले जनावर पक्रेर खान्छ।
तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्।
गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।
10 घरि-घरि ती दुष्ट मानिसहरूले
असहाय मानिसहरूलाई कष्ट दिंदछन्।
11 यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो।
हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो।
हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”
12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्!
हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्,
असहायहरूलाई नबिर्सनु होस्।
13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्?
किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।
14 हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ,
अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ!
समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्।
हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ,
जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ।
15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्।
खराब मानिसको दुष्टता खोज्नुहोस्
र उनीहरूको विनाश गर्नुहोस्।
16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।
तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्!
17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्।
उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
18 हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्।
दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्।
दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
© 2004, 2010 Bible League International