Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 21

बिन्यामीनका मानिसहरूका निम्ति पत्नीहरू प्राप्त गर्नु

21 मिस्पामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियोः “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”

इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए। तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”

अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए। तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेट्न आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा-शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।

तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ। हामीले परमप्रभुको समक्ष एक भाकल गर्यौं। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन सक्छौं?”

तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन। इस्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हेर्नलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन। 10 यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एवं केटा-केटीहरू समेतलाई मार। 11 तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले याबेश गिलादका हरेक मानिसलाई मार्नु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदेऊ। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे। 12 ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

13 तब इस्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिम्मोनको चट्टान नामक स्थानमा थिए। 14 यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।

15 इस्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो। 16 इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु? 17 बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, तिनीहरूका सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नै पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन। 18 तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित बिवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौं ‘कुनै व्यक्ति माथि पनि नराम्रो घट्ना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’ 19 तिनीहरूले भने, ‘हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।’” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ तर लबानोन शहरको दक्षिणमा छ।)

20 यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस। 21 उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक-एकजना जवान स्त्री लेऊ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित बिवाह गर। 22 ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाइहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौ, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरूद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौं भनी शपथ खाएका थियौं। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।’”

23 यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे। 24 तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।

25 ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो।

प्रेरित 25

पावलले सम्राट सिजरलाई भेट्न चाहन्थे

25 फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए। मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे। तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए। तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु। तिमीहरूका अगुवाहरू पनि मसँग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।”

फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्। तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”

तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?”

10 पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ। 11 यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”

12 फेस्तसले आफ्ना महासभासँग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”

पावल हेरोद अग्रिपा समक्ष

13 केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए। 14 तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ। 15 जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छ्न्। 16 तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’

17 “यसर्थ ती यहूदीहरू मसँग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसें अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ। 18 यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिएँ। 19 जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ अझै पनि जिउँदो छन्। 20 म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’ 21 तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यहीं राख्नु।”

22 अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।”

फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”

23 अर्को दिन आग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे।

24 फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसँग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन। 25 जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैंले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें। 26 तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याएँ। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु। 27 उसको विरोधमा दोषहरू नऔंल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”

यर्मिया 35

रेकाबी परिवारका असल उदाहरण

35 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो: “यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”

यसर्थ मैले यर्मियाको[a] छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ। त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो। तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई “पिउनु भनें।”

तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौं किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन। उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’ रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौं। हामी कहिले मद्यपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्। हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफ्नै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं। 10 हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ। 11 तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”

12 तब परमप्रभुको वचन यर्मियाकहाँ आयो: 13 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?’ 14 परमप्रभु भन्नुहुन्छ, ‘रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ। 15 मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुशरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ। 16 योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।’

17 “यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै सङ्कटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाकें तर तिनीहरूले जवाफ दिएनन्।’”

18 तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुशरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।’ 19 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैँ रहनेछ जसले मेरो सेवा गर्छ।’”

भजनसंग्रह 7-8

परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।

हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
    ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
    मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।
    म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।
    म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
    मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्।
    मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्।

हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
    मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
    हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
    परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
    मेरो न्याय गर्नुहोस्।
    म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
    अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
हे परमप्रभु, तपाईंले
    मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
    यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,
    उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
    यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
    परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
    अनि काँड हान्न तयार हुनुहुन्छ।

14 दुष्ट मानिसहरूले दिएको कष्ट
    र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ।
    यस विषायमा तपाईंले केही गर्नुहोस्।
15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
    दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,
    जो अरूको लागि कपटी छन्।
    तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
    तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
    तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
    जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।

हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
    अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
    किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
    किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?

तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
    अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
    तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
    र माछाहरूमाथि पनि अधिकार गर्छन्।
हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International