Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 20

इस्राएल अनि बिन्यामीन माझ युद्ध

20 यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए। इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए। बिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्राएलका मानिसहरू मिस्पामा एकसाथ भेट गरिरहेछन्। इस्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”

यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं। तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो। यसर्थ मैले मेरी स्त्री सेविकालाई लगें अनि उसको देहलाई टुक्रा-टुक्रा पारेर काटें। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक-एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्रा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे। अब इस्राएलका सबै मानिसहरू, बोल्नुहोस्। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेऊ।”

तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अँहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन। अब गिबा शहर प्रति हामी जे गर्छौ त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउन् भनी चिट्ठा गर्ने छौं। 10 हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”

11 यसर्थ इस्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए। 12 इस्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो? 13 गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्राएलका मानिसहरू माझको दुष्टता हटाउनै पर्छ।”

तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्। 14 बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए 15 बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए 16 त्यसमा देब्रेहातद्वारा लड्न सक्ने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।

17 बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्राएलका कुल समूहहरूका 4,00,000 सशस्त्र अनि लडकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए। 18 इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्रमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”

परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

19 भोलीपल्ट विहानै इस्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले। 20 तब इस्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरूद्ध गिबा शहरमा तयार भए। 21 बिन्यामीन सेनाहरूले 22,000 इस्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।

22-23 इस्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए। तिनीहरूले परमप्रभुसँग सोधे, “हामी फेरि बिन्यामीनका मानिसहरूको विरूद्ध युद्ध गर्नु? ती मानिसहरू हाम्रा आफन्तहरू हुन्।”

परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरूद्ध युद्ध गर।” इस्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।

24 तब इस्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो। 25 बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।

26 त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे। 27 इस्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो। 28 त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”

परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”

29 तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए। 30 इस्राएलका सेना तेस्रो दिन गिबा शहरको विरूद्ध लडाँईं गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए। 31 बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरूद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गेरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो। 32 बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।”

इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे। 33 यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्रमण गरे। 34 इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्रमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घट्ना घट्नेवाला छ त्यो थाहा थिएन।

35 परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो। 36 यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।

इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्रमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए। 37 ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए। 38 अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।

39-41 बिन्यामीनका सेनाले प्रायः तीसजना इस्राएली सैनिकहरू मारेका थिए। यसर्थ बिन्यामीनका मानिसहरू भन्दै थिए, “हामी अघि जस्तै विजय गरिरहेछौं।” तर त्यसैबेला शहरबाट धुवाँको ठूलो बादल माथि उठ्न थाल्यो। बिन्यामीनका मानिसहरू घुमेर फर्किए अनि त्यो धूवाँ देखे। सम्पूर्ण शहर आगोको ज्वालामा थियो। तब इस्राएलका सेना भाग्न छाडे। तिनीहरू फर्किए र लड्न शुरूगरे। बिन्यामीनका मानिसहरू भयभीत भए। अब तिनीहरूले बुझे तिनीहरू प्रति कस्तो भयानक कुरा घट्नेछ।

42 यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरुभूमि तिर भागे। तर तिनीहरू लडाइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए। 43 इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे। 44 यसरी 18,000 साहसी अनि बलवान बिन्यामीन लडाकु सैनिकहरू मारिए।

45 बिन्यामीनका सेना फर्किए अनि मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरू 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।

46 त्यस दिन बिन्यामीन सेनाका 25,000 मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्वारा साहससित युद्ध गरे। 47 तर बिन्यामीनका 600 मानिसहरू मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे। 48 इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।

प्रेरित 24

यहूदीहरूले पावललाई दोष लगाए

24 पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए। पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले,

“महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए। हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ। तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला। यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो। 6-8 यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफैं बुझ्नु हुनेछ।” अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।”

पावल फेलिक्सको अगाडी

10 राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु। 11 म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफैं यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ। 12 यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन। 13 ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।

14 “तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु। 15 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ। 16 यही कारणले म सधैँ परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

17-18 “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ। 19 तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसँग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने 20 अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ। 21 मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।’”

22 फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।” 23 फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु।

पावल फेलिक्स र उहाँको पत्नीसँग बोल्दछन्।

24 केही दिन पछि फेलक्स आफ्नी यहूदी पत्नीसँग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने। 25 तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसँग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।” 26 तर फेलिक्सको पावलसँग बात गर्ने अर्को कारण थियो। फलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।

27 तर दुइ वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।

यर्मिया 34

यहूदाका राजा सिदकियाहलाई चेताउनी

34 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।

परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ। सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्। यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ। तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दु:खीत भएर भन्नेछन्। “हे, प्रभु!” मैले मेरो कुरा तपाईंसँग भनेकोछु।’” यो सन्देश परमप्रभुबाट आएको हो।

तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने। बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।

मानिसहरूले आफ्नो एउटा करार भङ्ग गरे

राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो। प्रत्येक मानिसले आफ्ना हिब्रू-कमाराहरूलाई स्वतंन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारा-कमारीहरू स्वतंत्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस्। 10 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए। 11 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैंले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।

12 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो 13 “यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरें। 14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं बर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ बर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्। 15 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ। 16 तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।’

17 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई मुक्ति घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ। 18 ज-जसले त्यो करार भङ्ग गरेकाछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँड्छन्।[a] 19 ती मानिसहरू जो त्यो बाछीको दुइ फ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए। 20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ। 21 म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु। 22 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो: ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरुभूमिमा परिणत गरिदिनेछु।’”

भजनसंग्रह 5-6

संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।

हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
    र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
हे मेरा राजा, हे मेरा परमेश्वर,
    मेरो प्रार्थना सुनिदिनु होस्।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
    र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
    तिनीहरू तपाईंको आदर गर्दैनन्।
मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
    तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।

तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
    यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
ती मानिसहरू सत्य बोल्दैनन्।
    तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
    तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
    तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
    यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
    परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
    तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।

संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
    तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
हे परमप्रभु, ममाथि दया राख्नुहोस्
    कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
    मेरो हड्डीहरू दुःखीरहेका छन्।
    मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
    तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
    मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
    यसैले मलाई निको पार्नुहोस्!

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
    मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
    म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
    त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
    अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।

दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
    किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।

10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
    अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International