Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 16

शिमशोन गाजा शहरमा जान्छन्

16 एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए। कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”

तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अठ्याए र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।

शिमशोन अनि दलीला

पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।

पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्रिनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न सामर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”

यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”

शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”

तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिइन्। केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्रिन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडाइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्रिए। यसकारण ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।

10 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”

11 शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”

12 यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” तर तिनले धागो चुँडाएको जस्तै ती डोरीहरू सजिलै चुँडाए।

13 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”

शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।”

पछि, शिमशोन सुत्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्। 14 तब दलीलाले पालको कीलाले तानलाई भूइँमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।

15 तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।” 16 उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो। 17 अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”

18 दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।

19 जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काट्नलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्‌यो। 20 तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।

21 पलिश्ती मानिसहरूले शिमशोनलाई पक्रे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए। 22 तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।

23 पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नमा सहायता गर्नु भयो।” 24 जब पलिश्ती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने,

“यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्यो!
    यो मानिसले हाम्रा धेरै मानिसहरूलाई मार्यो!
तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्रिन,
    हामीलाई सहायता गर्नुभयो।”

25 उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडाउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडाउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए। 26 एकजना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले त्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अड्याउने खम्बालाई म छुन सक्छु, मलाई त्यहाँ राख। म त्यसमा अडेसलाग्न चाहन्छु।”

27 मन्दिरमा पुरूष अनि स्त्रीहरूको भीड थियो। पलिश्ती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरूष अनि स्त्रीहरू थिए। तिनीहरू हाँस्दै अनि शिमशोनको खिल्ली उडउँदै थिए। 28 तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिश्ती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस्।” 29 त्यसपछि शिमशोनले मन्दिर माझका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माझ दह्रिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देब्रे तर्फ थियो। 30 शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।

31 शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काइ ल्याए अनि तिनका बाबुलको चिहानमा तिनलाई गाडे। त्यो चिहान सोरा अनि एश्तोल शहर माझमा छ। शिमशोन बीस बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे।

प्रेरित 20

पावल म्यासिडोनिया र ग्रीस जाँदछन्

20 जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसँग विदा लिएर म्यासिडोनिया गए। म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए। उनी त्यहाँ तीन महीना बसे।

उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दैथे, तर उनको विरुद्धमा केही यहूदीहरूले षड्यन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए। कतिपय मानिसहरू उनीसँग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए। तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा पर्खिए। अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौं। हामी त्यहाँ सात दिन बस्यौं।

त्रोआसमा पावलको अन्तिम यात्रा

सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसँग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे। हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौं। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो। त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको झ्यालबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब ऊ मरिसकेको थियो।

10 पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।” 11 पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए। 12 मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।

त्रोआसदेखि मिलेटसको यात्रा

13 हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसँग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए। 14 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ। 15 हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापू पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं। 16 पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोष पर्वमा यरूशलेममा हुन चाहन्थे।

पावल एफिससवासी बुज्रुकहरूसँग बोल्छन्

17 मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।

18 जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसँग जति समय बिताँए, म कस्तो प्रकारले बसें। 19 तर यहूदीहरूले मेरो विरुद्ध धेरै षडयन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गरें। 20 मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाएँ। 21 मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिवर्त गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।

22 “तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिन त्यहाँ मेरो के गति हुन्छ। 23 म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई पर्खिरहेको छ। 24 म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।

25 “अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसँग सधैँ थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने। 26 यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन! 27 म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो। 28 तिमीहरू आफैं र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ। 29 म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू क्रुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्। 30 तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बङ्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्। 31 यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसँग तीन वर्ष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।

32 “अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ। 33 मैले कहिल्यै पनि आफ्नो लागि कसैको पैसा र लुगाहरू चाहिनँ। 34 तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसँग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें। 35 मैले तिमीहरूलाई सधैँ म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।’”

36 जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे। 37-38 तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्। तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।

यर्मिया 29

बाबेलका कैदीहरूलाई एक पत्र

29 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए। (यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।) यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो:

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो “घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ। विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ। शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।” सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रगर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ। तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।

10 परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी बर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु। 11 म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। 12 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। 13 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। 14 म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”

15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।” 16 तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु। 17 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु। 18 म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु। 19 यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नँदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति हुन दिएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो। 20 “तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

21 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्। 22 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’ 23 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफैं साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।

शमायाहलाई परमप्रभुको सन्देश

24 नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ। 25 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ। 26 शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ। 27 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने? 28 यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।’”

29 पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए। 30 तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो 31 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, ‘शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो। 32 यसकारण परमप्रभु भन्नुहुन्छ म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।’” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।’”

मर्कूस 15

पिलातस हाकीमद्वारा येशूप्रति प्रश्नहरू

(मत्ती 27:1-2,11-14; लूका 23:1-5; यूहन्ना 18:28-38)

15 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”

येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”

मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए। यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”

तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।

पिलातसद्वारा येशूलाई मुक्त गर्ने चेष्टा निष्फल

(मत्ती 27:15-31; लूका 23:13-25; यूहन्ना 18:39–19:16)

प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ। त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।

मानिसहरू कहाँ आए अनि उहाँले सधैँ गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे। पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?” 10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे। 11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।

12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”

13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”

14 पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?”

तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!”

15 पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।

16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। 17 सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। 18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” 19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। 20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।

येशूलाई क्रूसमा झुण्डायाएर मारियो

(मत्ती 27:32-44; लूका 23:26-39; यूहन्ना 19:17-19)

21 कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। 22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) 23 गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। 24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।

25 तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। 26 येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” 27 तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। 28 [a]

29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? 30 अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।”

31 यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। 32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।

येशूको मृत्यु

(मत्ती 27:45-56; लूका 23:44-49; यूहन्ना 19:28-30)

33 मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो। 34 ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”

35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”

36 तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”

37 तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।

38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो। 39 सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”

40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो) 41 ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसँगै यरूशलेममा आएका थिए।

येशू गाडिनु भयो

(मत्ती 27:57-61; लूका 23:50-56; यूहन्ना 19:38-42)

42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो। 43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे। यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।

44 येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे। 45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।

46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए। 47 मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International