Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 15

शिमशोनले पलिश्तीहरूका निम्ति विपद ल्याउँछन्

15 गहुँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।”

तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्। उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसँग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”

तर शिमशोनले उनलाई भने, “अब, म साँच्चै नै पलिश्ती मानिसहरूमाथि बद्ला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”

यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्रे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए। शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।

पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?”

शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।

त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”

तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्रमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो। तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे। 10 यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?”

उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”

11 तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”

शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”

12 तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”

शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”

13 तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।

14 जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेट्न आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडाए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए। 15 शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।

16 तब शिमशोनले भने;

“मैले तिनीहरूलाई गधाको बङ्गाराले
    अल्गो रास लगाएँ।
गधाको बङ्गाराले मैले
    1,000 मानिसहरूलाई मारिदिएँ।”

17 जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।

18 शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”

19 लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।

20 यसरी शिमशोन बीस बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।

प्रेरित 19

पावल एफिससमा

19 अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे। पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?”

तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?”

तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो ऊ पछि आइरहेछन्। तिनी ‘येशू’ हुन्।”

जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले। तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।

पावल सभाघरमा गए अनि साहससँग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसँग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे। तर कतिपय यहूदीहरू कठोर थिए। तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे। 10 पावलले यस्तो काम दुइ वर्ष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रत्येक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

स्केवाका छोराहरू

11 परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो। 12 पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।

13-14 कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाईदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”

15 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

16 तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरू च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।

17 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले। 18 धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे। 19 तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो। 20 यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।

पावलको यात्रा गर्ने योजना

21 तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।” 22 तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

एफिससमा अशान्त

23 तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो। 24 त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए

25 डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सम्बन्धित सबै मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ। 26 तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ! सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँच्चो देवताहरू होइनन्। 27 पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”

28 यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्!” 29 शहरका सबै मानिसहरू अस्तब्यस्त भए। तिनीहरूले गायस र अरिस्तार्खसलाई समाते। (यी दुइमानिसहरू म्यसोडोनियावासी थिए र पावलसँग यात्रा गरिरहेका थिए।) सबै मानिसहरू रंङ्ग-भवनतिर दगुरे। 30 पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरूको भिड़लाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरूले तिनीहरूलाई जान दिएनन्। 31 त्यस देशका कतिपय नेताहरू पावलका मित्रहरू थिए। तिनीहरूले पावलाई तमासा-घरभित्र नजानु भन्ने खबर पठाए।

32 कतिपय मानिसहरू एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरू त्यहाँ आफू किन आएका थिए बुझेकै थिएनन्। 33 यहूदीहरूले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने। अलेकज्याण्डरले आफ्नो हात ती भिड़हरू भएतिर हल्लाए किनभने उसले तिनीहरूलाई ब्याख्या गरेर बुझाउन चाहन्थे। 34 तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरू सबैबाट दुइ घण्टा सम्म एउटै स्वर आयो, “एफिससवासीहरूकी आर्तेमिस महान हुन्।” यो आवाज दुइ घण्टा सम्म चलिरह्यो।

35 त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन? 36 कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

37 “तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्। 38 हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून्।

39 “अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ। 40 किनभने आज यहाँ घटेको घट्नाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।” 41 शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

यर्मिया 28

हनन्याह झूटो अगमवक्ता

28 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो बर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने, “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाँच्नेछु। दुइ बर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु। म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।’”

तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए। अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।

“हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन। हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए। तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”

10 यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए। 11 तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ, ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जुवा म सबै जातिहरूको काँधबाट दुइ बर्ष भित्रमा भाँचि दिन्छु।’”

त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।

12 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो। 13 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन, ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु। 14 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, म सारा जातिहरूका काँघमा फलामको जुवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून्। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जनावर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।’”

15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह! परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ। 16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही बर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भड्कायौ।’”

17 अगमवक्ता हनन्याह त्यही बर्षको सातौं महीनामा मरे।

मर्कूस 14

यहूदी प्रमुखहरूद्वारा येशूलाई मार्ने योजना

(मत्ती 26:1-5; लूका 22:1-2; यूहन्ना 11:45-53)

14 निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए। तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रनु हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दङ्गा मच्चाउने डर हुन्छ।”

एउटी स्त्रीद्वारा केही गर्ने विशेष चेष्टा

(मत्ती 26:6-13; यूहन्ना 12:1-8)

येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।

केही चेलाहरूले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।

येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी। गरीब मानिसहरू सधैँ तिमीहरूसँग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मद्दत गर्नसक्छौ। तर म सधैँ तिमीहरूसँग हुने छैन। त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी। म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”

येशूको शत्रूहरूलाई सहयोग गर्न यहूदा तत्पर

(मत्ती 26:14-16; लूका 22:3-6)

10 त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यो। 11 मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि येशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।

निस्तार चाड़को भोज

(मत्ती 23:17-25; लूका 22:7-14,21-23; यूहन्ना 13:21-30)

12 यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज तयार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज तयार गरेको चाहनुहुन्छ?”

13 येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग। 14 त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिकसँग भनः ‘गुरूज्यू सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।’ 15 घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।”

16 यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।

17 साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो। 18 जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरू बाह्रजना मध्ये एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसँगै अहिले खाईरहेको छ।”

19 चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?”

20 येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसँगै कचौरामा रोटी चोप्दैछ। 21 मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरू पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”

प्रभु-भोज

(मत्ती 26:26-30; लूका 22:15-20; 1 कोरिन्थी 11:23-25)

22 जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”

23 त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। 24 त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो। 25 म तिमीहरूलाई साँच्चो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।”

26 तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।

येशूका सबै चेलाहरूले उहाँलाई छोडे

(मत्ती 26:31-35; लूका 22:31-34; यूहन्ना 13:36-38)

27 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छ,

‘म गोठालोलाई मार्नेछु,
    अनि भेंड़ाहरू तितरबितर हुनेछन्।’(A)

28 तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।”

29 पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”

30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।”

31 तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसँगै मर्नु परेता पनि म कहिल्यै तपाईंलाई इन्कार्ने छुईंन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।

येशूद्वारा एकान्तमा प्रार्थना

(मत्ती 26:36-46; लूका 22:39-46)

32 येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।” 33 येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो। 34 उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।”

35 अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्। 36 उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।”

37 तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ? के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ 38 जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।”

39 फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो। 40 फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा फर्कनु भयो। उहाँले तिनी हरूलाई सुतिरहेकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।

41 येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो। 42 उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।”

येशू पक्राउ पर्नुभयो

(मत्ती 26:47-56; लूका 22:47-53; यूहन्ना 18:3-12)

43 जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए।

44 यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।” 45 यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए। 46 तब मानिसहरूले झम्टेर येशूलाई पक्रे। 47 कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो।

48 तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ? 49 प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ। तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।” 50 त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।

51 एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलको वस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रने कोशिश गरे। 52 तर त्यसले त्यो मलमलको बस्त्र छाड्यो अनि बस्त्र विहीन् भएर भाग्यो।

येशू यहूदी प्रमुखहरूको सामुन्ने

(मत्ती 26:57-68; लूका 22:54-55,63-71; यूहन्ना 18:13-14,19-24)

53 येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए। 54 पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो।

55 मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्। 56 अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो।

57 त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने, 58 “हामीहरूले यस मानिसले भनेका सुनेका छौं, ‘मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हुँदैन।’” 59 तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।

60 त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा धेरै बोले। आफ्नो विरूद्धमा आएको यस्तो आरोपहरूको विरुद्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँच्चो कुराहरू गरिरहेका छन्?” 61 तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन।

प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”

62 येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हुँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”

63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र? 64 तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”

सबैले येशूलाई भुल गरेको ठहराए। अनि मार्नू पर्छ भने। 65 त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।

येशूलाई चिन्छु भन्न पत्रुस डराए

(मत्ती 26:69-75; लूका 22:56-62; यूहन्ना 18:15-18,25-27)

66 त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई। 67 त्यसले पत्रुसलाई आगो ताप्दै गरेको देखी। त्यो पत्रुसको नजिकै आएर हेरी। तब त्यो केटीले भनी, “नासरतको येशूसँग तिमी पनि थियौ?”

68 तर पत्रुसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहेका छौ।” तब पत्रुस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।

69 त्यो नोकर्नी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।” 70 फेरि पत्रुसले यी कुरा साँच्चो होइन भनेर भने।

केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरूको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”

71 त्यसपछि पत्रुसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खान्छु।”

72 अनि तुरन्तै, दोस्रोपल्ट भाले बास्यो। त्यपछि पत्रुसलाई येशूले भन्नु भएको अघिका कुराहरू सम्झन थाले, “दुइपल्ट भाले बास्नु अघिसम्म तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट भन्ने छौ।” पत्रुस त्यसपछि खुबै दुःखीत भए अनि रून लागे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International