M’Cheyne Bible Reading Plan
शिमशोनको विवाह
14 शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे। 2 जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”
3 तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन।”
तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।” 4 शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध केही घटनाहरू घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।
5 शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्जियो अनि शिमशोनतिर झम्ट्यो। 6 शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्रा-टुक्रा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्रा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।
7 यसर्थ शिमशोन शहर तिर झरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्। 8 धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए। 9 शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।
10 शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए। 11 जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।
12 तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु। 13 तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”
14 शिमशोनले तिनीहरूलाई अड्को सुनाएः
“खानेबाट केही खानेकुरा निस्क्यो।
बलवानबाट केही गुलियो कुरा निस्कयो।”
ती 30 जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।
15 चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्कोको उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”
16 यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”
17 शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।
18 यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,
“महभन्दा गुलियो के हुन्छ?
सिंहभन्दा बलियो को हुन्छ?”
तब शिमशोनले तिनीहरूलाई भने,
“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए
तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”
19 शिमशोन अत्यन्त क्रोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अड्को को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20 शिमशोनले उसकी नयाँ दुलहीलाई आफूसँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।
कोरिन्थमा पावल
18 पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए। 2 तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए। 3 तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरूसँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे।
4 प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे। 5 सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए। 6 तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एकदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछु।”
7 पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो। 8 क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारगरेको सु-समचारमा बिस्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।
9 राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसँग बोलिरहौ! नरोक! 10 म तिमीसँग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।” 11 पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।
पावललाई गल्लियो सामु ल्याइयो
12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। 13 यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!”
14 पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ। 15 तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।” 16 तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।
17 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।
पावल एन्टिओक फर्के
18 पावल दाज्यू-भाइहरूसँग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए। 19 त्यसपछि तिनीहरू एफिसस्मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसँग बात गरे। 20 तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्। 21 पावलले विदा लिएर हिँड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।
22 पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे। 23 त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।
अपोल्लस एफिसस र अखैयामा
24 अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो। 25 उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे। 26 उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।
27 अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्यूभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे। अखैयामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने। 28 उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए।
परमेश्वरले नबूकदनेस्सरलाई शासक बनाउनु भयो
27 यहूदामा सिदकियाहको शासनकालको चौथो बर्षमा[a] परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए। 2 परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ। 3 त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ। 4 तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि 5 मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु, त्यसैलाई दिन सक्छु। 6 अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन्। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु। 7 सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन्।
8 “‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,’” यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु। 9 यसर्थ तिमीहरू अगमवक्ताहरू जोखाना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिनीहरूलाई ध्यान नदेऊ। 10 तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मर्नेछौ।
11 “‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,’” परमप्रभुले घोषणा गर्नुहुन्छ।
12 मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ। 13 यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो। 14 तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् ‘तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।’
“तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।” 15 परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।”
16 तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्। 17 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन नष्ट होस्? 18 यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”
19 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे। 20 बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्। 21 सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए। 22 ‘ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।’ यो सन्देश परमप्रभु भन्नुहुन्छ, ‘तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।’”
भविष्यमा मन्दिर ध्वंश
(मत्ती 24:1-25; लूका 21:5-24)
13 येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला-ठूला ढुङ्गाहरूले बनाएर अति सुन्दर भएको छ।”
2 येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुङ्गा भूईँमा फ्याँकिनेछ। एउटामाथि अर्को कुनै ढुङ्गा त्यहाँ रहने छैन।”
3 त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र आन्द्रियाससँग अलग्गै हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे, 4 “हामीलाई भन्नुहोस् कहिले यस्तो घट्ना घट्ने छ? अनि यी सब घट्ना हुनलाग्दा के संकेत हुनेछ?”
5 येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्। 6 धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ।’ अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्। 7 तिमीहरूले लडाईको बारेमा सुन्न पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घट्नाहरू घट्नेछ। 8 राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तो समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।
9 “तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तीमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइन्छ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ 10 यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ। 11 तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफैं बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।
12 “दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन। 13 सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।
14 “तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घट्ना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।” (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) “त्यसबेला यहुदियाका मानिसहरू पहाड़हरूतिर भाग्नु पर्छ। 15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन। 16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।
17 “हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ। 18 यस्तो घट्ना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर। 19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन। 20 उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
21 “त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथ्वा ‘उहाँ त्यहाँ हुनुहुन्छ।’ यसलाई विश्वास नगर। 22 झूटो ख्रीष्टहरू र झूटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्। 23 यसकारण होशियार बस। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।
24 “तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,
‘सूर्य अँध्यारो हुनेछ,
अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।
25 आकाशबाट तारहरू झर्नेछन्,
अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्।’[a]
26 “त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन् 27 मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन्।
28 “अन्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अन्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ 29 त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन। 30 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्। 31 स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन।
32 “कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुन्छ। 33 होशियार रहो। सधैँ तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।
34 “यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ। 35 यसकारण तिमीहरू सधैँ सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हुँदैनौ। ऊ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ। 36 मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन। 37 म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’”
© 2004, 2010 Bible League International